काठमाडौं । तीनकुने सामूहिक हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । यस अघि पक्राउ परेका दीपेन्द्र राई रिहा भएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार घटनापछि स्वयं दीपेन्द्र राई कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा नै पुगेकाेमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । दीपेन्द्रको संलग्नता नदेखिएकाले उनलाई छाडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी राठौरले जानकारी दिए ।
आइतबार प्रहरीले घटनामा संलग्न सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको हो । सञ्जयले नवीन राईसँग रिसइबी रहेको र उनको हत्यापछि घटना खुल्ने डरले अरुको पनि हत्या गरेको प्रहरीसमक्ष बयान गरेका छन् । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो । त्यस क्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा उल्लेख गरेका छन् ।
दिव्य सःमिलमा ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, पूर्णबहादुरकी आमा ७६ वर्षकी शुभद्रा भुजेल र १९ वर्षका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।