इलाम ।
इलामको फिक्कल जोगमाई नयाँबजार सडक निर्माण ७५ प्रतिशत सम्पन्न भएको छ । फिक्कलदेखि मयुँखोला र गुप्ती नयाँबजार सडक खण्ड कालोपत्रे सम्पन्न भएको छ । बाँकी सडक आगामी चैत्रमा सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । सडक कालोपत्रे सँगै दशै तिहारमा घर फर्कन र आवतजावतमा सहज भएको छ ।
कोशी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको सडक २० किलोमिटर दुइ सय मिटर लामो रहेको छ । करिव आधा सडक कालोपत्रे हुँदा स्थानीयलाई आवतजावतमा सघाउ पुगेको छ । सुर्योदय नगरपालिकाका गोर्खे जोगमाई, माइजोगमाई गाउँपालिकाका विभिन्न क्षेत्रका बासीन्दा सडक निर्माणबाट लाभान्वित भएका हुन् ।
सुर्योदय नगरपालिका वडा एकका वडाध्यक्ष राजकुमार सेरेहाङले पुरानो बाटो निर्माण भएकोमा खुशी व्यक्त गरे । प्रतिकुल अवस्थाका बाबजुद निर्माण कम्पनीले सडकमा राम्रो काम भएको छ । उनले भने ।
बहुवर्षे ठेक्का मार्फत २०७६ सालदेखि नै निर्माण शुरु भएको सडकको ठेक्का एक पटक म्याद थप भइसकेको छ । आउदो मंसीरभित्रै जोगमाई देखि गुप्ती सडक कालोपत्रे गरिसक्ने र बाँकी खण्ड चैत्र महिना सम्म निर्माण सम्पन्न गरिने निर्माण कम्पनी खनाल कन्स्ट्रक्सन कम्पनीले जनाएको छ । खनाल कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर डिल्ली खनालले २०७६ सालमा काम शुरु भएपनि २०७७ साल कार्तिकमा ठूलो बाढि आएर पुल समेत बगाएकाले काममा ढिलाई भएको बताए । उनले काममा बीच बीचमा अवरोध र बाढिले मुख्य संरचना नै बगाए पनि आगामी ६ महिना भित्रमा सवै निर्माण सम्पन्न गर्ने दावि गरेका छन् ।
सडकको गोलाई र अप्ठ्यारो भुभाग करिव ७२० मीटर पक्की ढलाई गरिइको छ । कोरोना र बाढि पहिरोका कारण निर्माण अवस्थामै क्षति भएकाले निर्माण कार्य ढिलो भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ । गुणस्तरका लागि समय अनुकुल र कालोपत्रे गर्न तापक्रम चाहिने भएकाले निर्माणमा समय लागेको बताइएको छ । पुर्वाधार विकास कार्यालय चन्द्रगढी झापाका इञ्जिनियर विरेन्द्र लामाले डि वि एस टी ( डबल विटुमिने एस ट्रिटमेन्ट ) अनुरुप सडक कालोपत्रे गर्ने पुरानो प्रविधि भएकाले चुनौतिपुर्ण रहेको बताए । उनले न्युन तापक्रम भएका बेला विटुमिन ढिलो सेट हुने र बेला बेलामा सेट नहुन र कम्पोजिसन कम हुने जस्ता समस्या रहे पनि सडक निर्माणमा अहोरात्र अनुगमन गरी गुणस्तर कायम गरिएको बताए ।
भ्याट सहित ५३ करोडको ठेक्का मार्फत सडक कालोपत्रे भइरहेको छ । सडकको विभिन्न खण््डमा ढलाई गर्नुपर्दा थप तीन करोड लागत थप हुने अनुमान गरिएको छ । मुख्यमंत्री सडक अन्तर्गत इलाम जिल्लामा ठेक्का सम्झौता भएका चार स्थानका सडक मध्ये माइ नगरपालिकामा सडक निर्माण सम्पन्न भएको छ । बाँकी तीन स्थानका सडक कालोपत्र हुने क्रममा रहेका छन् ।







