काठमाडौं । पूर्व अमेरिकी विदेशमन्त्री एवं विश्वविख्यात कुटनीतिज्ञ हेनरी किसिन्जरको १ सय वर्षको उमेरमा निधन भएको छ । किसिन्जरले उच्च अमेरिकी कुटनीतिज्ञ र राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेका छन् ।
किसिन्जरको कनेक्टिकटमा रहेको आफ्नै निवासमा निधन भएको हो । सन् १९२३ मा जन्मिएका किसिन्जर १९४३ मा अमेरिकी नागरिक बनेका थिए । केही समय हाभर्ड विश्वविद्यालयमा समेत प्राध्यापन गरेका उनलाई सन् १९६९ मा तत्कालिन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको थियो ।
उनि सन् १९७३ मा अमेरिकी विदेशमन्त्रीमा नियुक्त भएका थिए । सन् १९७३ मै उनलाई नोबेल शान्ति पुरस्कारसमेत दिइएको थियो । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।
किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई विश्वमञ्चमा उपस्थित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । जीवनको उत्तरार्धसम्म सक्रिय रहेका किसिन्जरले गएको जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समेत भेट गरेका थिए ।







