लमजुङ । जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दोर्दी गाउँपालिका-४, नौथर सेराबाट कामचोक जाँदै गरेको गरेको ग १ ज ७५६१ नम्बरको बोलेरो जिप आइतबार साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटना परी ३ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
कामचोक गाउँ नपुग्दै चौतारोमुनि जिप दुर्घटना भएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । दुर्घटनामा परेर दोर्दी गाउँपालिका-४, बाँसबोटका ५० वर्षीय पूर्णबहादुर तामाङ गम्भीर घाइते भएका छन् । वडा नम्बर ४ कै कामचोक गाउँका ५३ वर्षीया गंगामाया गुरुङ र ४७ वर्षीया मनीमाया तामाङ पनि घाइते भएका छन् ।
घाइतेको उद्धार गरी उपचारका लागि बेँशीसहर ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए । उनका अनुसार जिपका चालक प्रहरीको नियन्त्रणमा छन् ।







