इलाम। नेकपा एमालेका स्वर्गीय नेता सुवास नेम्वाङको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएको छ । इलामको सुन्तलाबारीमा रहेको घर जग्गाको लिलामीको सुचना प्रकाशित भएको हो । नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गत भित्र कर्जा चुक्ता गर्न भनेको छ ।बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलाम स्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै समेत लिलामी हुने बताइएको छ ।
पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा सुवास नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रूपमा बसेका थिए । नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् । जसअनुसार बैंकले लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापा शान्तिनगर–५ का रुद्र प्रसाद काजीमान गिरी पनि थिए । नेपाल बैंकले नेम्वाङ सँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाइ सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा नेम्वाङका भाई सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी भएको छ ।







