इटहरी । अन्तिम तयारी पुरा गरेर उद्घाटन हुनै लाग्दा स्थगित भएको प्रथम इटहरी जुत्ता चप्पल महोत्सवको आइतबार विधिवत् समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । इटहरीका सीमित व्यवसायीहरूले सिन्डिकेट खडा गरेपछि गत फागुन ११ गते हुने भनिएको मेला उद्घाटन स्थगित भएको थियो ।
आइतबार इटहरी उपमहानगरका प्रवक्ता एवम् वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले मेलाको औपचारिक समुद्घाटन गरे । उवासंघ इटहरीले १० दिन मात्र सञ्चालन गर्नु भनेको मेलालाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पोख्रेलले १० वर्ष सञ्चालन गर्न अनुमति दिने बताए ।
उवासंघले व्यवसायी सँगै उपभोक्ताको माग र अवस्था र मार्का बुझ्नुपर्नेमा सीमित व्यापारीको कुरा सुनेर मेला, महोत्सव स्थगित गराउनु दुखत रहेको बताउँदै वडाध्यक्ष पोख्रेलले मेला दशदिन होइन दशवर्ष इटहरीमा लगाउन अनुमति दिने उनको जिकिर छ ।
कानुनतः रूपमा दर्ता भएको फर्मको लेटरप्याड बोकेर वडा कार्यालय आउनुस म १० दिन हैन १० वर्ष मेला सञ्चालनको अनुमति दिन्छु वडाध्यक्ष पोख्रेलले भने । उनले पछिल्लो समय उवासंघ केही सीमित व्यापारीको मात्र भएको आरोप पनि लगाए ।
त्यस्तै उवासंघ इटहरीकै सदस्य उमेश दाहालले स्वोदेशमै उत्पादन भएका जुत्ता चप्पलको मेला आफ्नो सहरमा लाग्नु यो गौरवको कुरा रहेको बताउँदै यस्ता गतिविधिले व्यवसायिक प्रवर्धन र बजारमा आर्थिक गतिविधि बढाउँन सहयोग पुर्याउने बताए ।
सस्तो , टिकाउ र भरपर्दो रहिछ मैले पनि २ जोर जुत्ता यहीबाट किने उनले भने । यस्ता महोत्सव तथा मेलालाई यहाँका व्यवसायीहरूले सहयोग गर्नुको सट्टा निरुत्साहित हुने खालको काम गर्नु दुखत रहेको सदस्य दाहालले बताए । होटल तथा पर्यटन व्यवसाय संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले मेलालाई सफलताको शुभकामना दिए ।
गत ११ गते देखि सुरु भएको मेलाले तेस्रो दिन आइपुग्दा १५ लाखको कारोबार गरेको प्रथम इटहरी जुत्ता चप्पल महोत्सव आयोजक कमिटीका अध्यक्ष नानीराज घिमिरेले बताए । विवाद चलिरहँदा अर्थात् पहिलो दिन नै ३ लाख ,दोस्रो दिन साढे ६ लाख र उदघाटनको दिन यो समाचार तयार पारुन्जेल सम्म ५ लाख ९७ हजारको कारोबार गरेको महोत्सवका अध्यक्ष घिमिरेले बताए ।
व्यवसायीको विरोध पछि ११ गते हुने भनिएको उद्घाटन स्थगित भए पनि मेला सञ्चालन यथावत् रहेको थियो । महोत्सवले इटहरीको बजार धरासयी हुने दाबी सहित केही व्यापारीले उवासंघमा उजुरी गरेपछि तत्काललाई उद्घाटन र कारोबार नगर्ने गरी सञ्चालन गर्न अनुमति दिएको थियो । तर आयोजक पक्षले कारोबार बिनाको महोत्सव औचित्य नै नरहने अडान राखेपछि उवासंघ पछि सरेको थियो ।
पुन शनिवार भएको दुई पक्षीय छलफलमा भने १० दिन सम्म कारोबार गर्ने गरी जुत्ता चप्पल महोत्सव चलाउन दिने सहमति भएको मेला संयोजक होमनाथ उपाध्यायले बताए । अब वडाध्यक्ष स्वयमले १० वर्ष चलाउनु भनिसकेपछि कति दिन सम्म जान्छ त्यो पछि नै थाहा होला संयोजक धमलाले भने ।
नेपालमै उत्पादन भएका स्वदेशी ब्रान्डका जुत्ता चप्पल सर्वसुलभ मूल्यमा पाइने भएपछि महोत्सवमा स्थानीय उपभोक्ताहरूको घुइँचो लागेको छ ।‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिएको छ ।







