इलाम। प्रथम रेडहर्स इलाम फुटबल प्रतियोगिताको आय ब्यय सार्वजनिक भएको छ । प्रतियोगीतामा २२ लाख रुपैयाँ नाफा भएको छ ।
नाफामध्ये करिब १३ लाख रुपैयाँ भने उठ्न हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
आयोजक रेडहर्स फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गरी गत माघ ६ देखि १३ गतेसम्म इलामको ठूलो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो ।
आयोजक समिति सचिव प्रकाश घिमिरेले आम्दानीमध्ये ६६ लाख २० हजार रुपैयाँ उठेको र ५६ लाख ३१ हजार रुपैयाँ खर्च भएको बताए । ‘थप १३ लाख रुपैयाँको सहयोग प्रतिबद्धता रहेपनि रकम उठ्न बाँकी छ,’ उनले भने, ‘हामी यो रकम उठाउन पहल गरिरहेका छौं ।’
आयोजकका अनुसार एनआरएनएबाट पाँच लाख ८० हजार, इलाम नगरपालिकाबाट पाँच लाख, गोर्ख ब्रुअरीबाट दुई लाख, प्रि–टिकट चार लाख, गेटमनीबाट २० लाख ३४ हजार रुपैयाँ आम्दानी भएको छ । विभिन्न दाताले व्यक्तिगत र संस्थागत रूपमा २० हजारदेखि ११ लाख रुपैयाँसम्म सहयोग गरेको सचिव घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टिम सहभागी थिए ।







