काठमाडौँ । राजतन्त्र पुनःस्थापना पक्षधरहरूको गतिविधिले दलहरू तरङ्गित भएका छन्। आइतबार राप्रपाको आह्वानमा राजतन्त्र पुनःस्थापना पक्षधरहरूले काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेपछि दल र सरकार तरंगित भएका हुन्।
राजावादीहरूको गतिविधि तीव्र हुन थालिसकेपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित पूर्वपश्चिम अभियान स्थगित गर्ने भएको छ।
शनिबार रौतहटमा आयोजित कार्यक्रममा सम्बोधन गरेका माओवादी अध्यक्ष प्रचण्ड आइतबारदेखि कार्यक्रम स्थगित गरेर काठमाडौँ फर्कने भएका छन्।
अध्यक्ष दाहालका प्रेस संयोजक नरेन्द्र केसीले आइतबार दाहाल काठमाडौँ आएपछि पदाधिकारी बैठक बस्ने र त्यसले पार्टीले सञ्चालन गरिरहेको अभियान स्थगित गरेर विकसित राष्ट्रिय राजनीतिक घटनाक्रममा केन्द्रित हुने जानकारी दिए।
केसीले भने, ‘पदाधिकारी बैठकले संसद् र केन्द्रीय राजनीतिमा भूमिका खेल्नुपर्ने अवस्था आएकाले अभियान स्थगित गर्ने तयारी भएको छ।’ माओवादीले फागुन ५ गतेदेखि चैत १२ गतेसम्म सञ्चालन हुने गरी तराई मधेश जागरण अभियान सञ्चालन गरिरहेको छ।
राजतन्त्र पुनःस्थापना पक्षहरूको गतिविधिले सत्तामा रहेका दुई दल कांग्रेस र एमालेले पनि आन्तरिक छलफल तीव्र बनाएका छन्। उनीहरुले राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्न सकिन्छ र सरकारको भूमिका कस्तो बनाउने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन्।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रमा फरक मत राख्न पाउने संवैधानिक अधिकार भएकाले राजतन्त्र पुनःस्थापना गर्ने पक्षहरूले पनि आफ्ना कुरा लिएर सडकमा आउन खोज्नु स्वभाविक भएको बताए। तर, अहिलेको सन्दर्भमा राजतन्त्र पुनःस्थापनाको एजेण्डाको कुनै तुक र सम्भावना नभएको उनको दाबी छ।
देश सञ्चारसँग उनले भने, ‘आफ्ना कुरा राख्न पाउनु संवैधानिक हक हो। उहाँहरुले त्यो गर्न पाउनुहुन्छ तर अहिलेको सन्दर्भमा राजतन्त्र पुनःस्थापना गर्ने एजेण्डा को कुनै तुक छैन। सम्भावना पनि छैन। परिवेशले दिँदैन।’
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका एक सदस्यले शान्तिपूर्ण भेलालाई सरकारले स्वभाविक रुपमा लिए पनि राजनीतिक प्रणाली र संविधानलाई नै विस्थापित गर्ने कुरा मान्य नहुने बताए।
ती सदस्यले भने,’व्यवस्था नै परिवर्तन गर्ने र संविधान नै उल्ट्याउने गतिविधि गर्दा के कसो गर्नुपर्छ उहाँहरुले नै सिकाउनुभएको छ। संविधान र राज्य प्रणालीको संरक्षणका लागि सरकारले आफ्नो उपस्थिति देखाउँछ।’
पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह भोलि काठमाडौँ फर्कने भएपछि राप्रपाले उनको स्वागतका लागि भन्दै काठमाडौँमा प्रदर्शनको तयारी गरेको छ।







