इलाम – माईजोगमाई गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत बिहीबार किसानहरूलाई हाते ट्र्याक्टर र चिया टिप्ने मेसिन वितरण गरिएको छ।
कार्यक्रम माईजोगमाई–१ स्थित वडा कार्यालयमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष कुस बहादुर थेबेले गर्नु भएको थियो भने विशेष अतिथिका रूपमा उपाध्यक्ष प्रबिना राई रहनु भएको थियो। त्यस्तै कार्यक्रममा वडा नं। १ का अध्यक्ष यामकुमार कार्की तथा कार्यपालिकाका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य वडा नं। १ का अध्यक्ष यामकुमार कार्कीले दिनुभएको थियो।
कोशी प्रदेश सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानहरूलाई ६ एचपी क्षमताका १० थान र ७ एचपी क्षमताका १३ थान हाते ट्र्याक्टर गरी कुल २३ थान ट्र्याक्टर वितरण गरिएको हो। साथै १७ थान चिया टिप्ने मेसिन समेत वितरण गरिएको कृषि शाखाले जनाएको छ।
वितरित उपकरणका लागि किसानले २५ प्रतिशत साझेदारी गरेका छन्। त्यसअनुसार ६ एचपी ट्र्याक्टर रु १३,००० मा र ७ एचपी ट्र्याक्टर रु १५,७५० मा किसानलाई प्रदान गरिएको हो। त्यस्तै, चिया टिप्ने मेसिन रु ५,८७५ मा उपलब्ध गराइएको हो।
कृषि शाखा प्रमुख उषा श्रेष्ठले वितरण कार्यक्रम सशक्त रुपमा सम्पन्न गरिएको बताउँदै छनोट गरिएका किसानहरूलाई उपकरण सहि तरिकाले प्रयोग गर्न आग्रह गरिन्। उनले यस्ता उपकरणले कृषिमा उत्पादन वृद्धि गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिन्।
विशेष अतिथि उपाध्यक्ष प्रबिना राईले वितरण गरिएका सामग्रीहरूको प्रभावकारी उपयोगका लागि अनुगमन गरिने जानकारी दिँदै किसानहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिन्।
कार्यक्रमका अध्यक्ष कुस बहादुर थेबेले वितरण गरिएका उपकरणलाई प्रयोगमा ल्याएर व्यवसायिक कृषितर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो। उहाँले कृषि नै गाउँपालिकाको मुख्य आयस्रोत भएको उल्लेख गर्दै पालिकाले कृषकहरूसँग सधैं सहकार्य र समन्वय गर्दै आइरहेको जानकारी दिनुभयो।कार्यक्रममा स्थानीय किसानहरु सरोकारवाला र पत्रकारहरुको उपस्थिति रहेको थियो ।







