इलाम, इलाम जिल्लाको सूर्योदय नगरपालिका–१ भालुखोपमा धारिलो हतियार प्रयोग गरेर गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
गएराति भएको घटनामा माइजोगमाई गाउँपालिका–२ तारसिंह निवासी २१ वर्षीय प्रकाश चापागाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनामा ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार प्रकाश चापागाईं आफ्ना दाजु निरोजसँगै दाजुको ससुराली घर भालुखोप आएका थिए। त्यही क्रममा सूर्योदय–१, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग केही विवाद भएको थियो। विवाद चर्किएपछि शेर्पाले धारिलो हतियार प्रयोग गरी दुवै जनामाथि आक्रमण गरेका थिए।
शेर्पाको आक्रमणबाट प्रकाश चापागाईंको घटनास्थलमै मृत्यु भएको हो भने निरोज चापागाईंको पेटमा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि झापा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न मुख्य अभियुक्त किरण शेर्पालाई नियन्त्रणमा लिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। प्रहरी प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै थप सतर्कता अपनाएको जनाएको छ।







