बिनु खड्का
इलामका कृष्ण दाहाल विहानै क्यामेरा बोकेर इलाम चिया बगानमा हिडिरहेका हुन्छन । उनलाई इलामको चियाबारीले आकर्षण गरेर क्यामेरा भिरेर चियाबारी पुगेका भने होइनन् । बरु उनी त चियाबारीले आकर्षण गरेका पर्यटकहरुबाट आकर्षित भएर त्यहाँ पुगेका हुन् । उनले चियाबारी घुम्न आएका पर्यटकहरुको फोटो खिच्ने र त्यसबाट निश्चित पैसा लिने गरेका छन् । पछिल्लो समय उनको फोटो खिच्ने र भिडियो बनाउने पेसा नै भएको छ । उनी इलामको चिया बगान, लभ डाँडाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको फोटो खिच्ने र भिडियो बनाउने गर्छन् । चियाबारीलाई पृष्ठभूमिमा पारेर खिचेको गज्जबको फोटोले पर्यटक पनि मख्ख उनको पनि परिवार चलाउने राम्रो माध्यम भएको छ । कृष्ण भन्छन्, ‘फाटो खिच्ने मेरो सौख पनि हो यही खौख पूरा गर्दा परिवार पनि चलेको छ ।’ उनी जस्तै दर्जनौंले इलामका पर्यटकीय स्थलहरुमा पर्यटकलाई लोभ लाग्दो फोटो र भिडियो खिचेर लोभ लाग्दो कमाई गर्दै आएका छन् ।
नगरले प्रवद्र्धन गरेका पर्यटकीय गनतव्यहरु
लभ डाँडा
पर्यटकहरुले धेरै रुचाएको ठाउँ इलामको लभ डाँडा पनि हो । इलाम आउनेले एक पटक लभ डाँडामा गएर फोटो खिच्ने गर्छन् । अझ भन्ने हो भने इलामको लभ डाँडामा धेरै जस्तो प्रेमिल जोडीहरु भेटिने गर्छन् । हरियाली चिया बगान मनोरम दृष्य र त्यहाँबाट देखिने भूभागहरुले पर्यटकहरुलाई आनन्द दिने गर्दछ । नेपालकै पहिलो चिया बगान र कारखानाको अवलोकनसँगै चियाबारीमा रमाउनेहरुका लागि उत्तम गन्तब्य बनेको छ लभ डाँडा । यहाँ नगरपालिकाले यहाँ ५ लाख रुपैयाँ लगानी गरेर सार्वजनिक शौचालय निमार्ण कार्य पनि अन्तिम चरणमा पुर्याएको छ । पछिल्लो समय लभ डाँडामा आएर फोटो खिच्ने र टिकटक बनाउनेको संख्या बढ्दै गएको छ ।
भालुढुङ्गा
इलाम नगरपालिका–६ मा रहेको भालुढुङ्गा इलाम नगरपालिकाको अर्को पर्यटकीय गन्तब्य हो । इलाम बजारबाट पैदल यात्रा वा यातायात प्रयोग गरेर पनि जान सकिन्छ । यहाँ ठूलो ढुंगा मुनी ओडार छ । ओडार प्रवेश द्वारमा भालुको आकृति बनाइएको छ । यो ओडारमा पहिले भालु बस्ने गरेकाले पनि भालु ढुङ्गा भन्ने गरिएको भनाई छ । यहाँबाट मनोरम दृष्य अवलोकन, सामुदायिक वन अवलोकन गर्दै प्रकृतिसँग रमाउँदै आनन्द लिनेहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।
भ्यू टावर
इलाम सदरमुकामबाट केहि माथि रहेको इलाम नगरपालिकाद्वारा निर्मित भ्यू टावर पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । भ्यू टावरबाट इलाम बजार नजिकैको चिया बगानको हरियाली, इलाम बजार र इलामका विभिन्न भूभागहरु अवलोकन गर्न सकिन्छ ।
माइस्थान मन्दिर
माइस्थान मन्दिर इलाम सदरमुकाम भित्र रहेको छ । यो मन्दिर धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ । यो मन्दिर इलामबासीहरुको लागि एक धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको छ । नेपाल एकीकरणको क्रममा सुगौली सन्धि पछाडि नेपालको सिमाना पूर्वमा टिस्टाबाट मेची बजार कायम भएपछि सेनाले प्रयोग गरेको निसान पनि माईस्थान मन्दिरमा राखिएको छ । यसले यहाँको ऐतिहासिक महत्वलाई समेत बोध गराएको छ । उक्त निसानको सुरक्षा नेपाली सेनाले गरेका छन् । यहाँ आएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वास छ ।
माइपोखरी
माईपोखरी सन्दकपुर गाउँपालिका–१ मा अवस्थित एक धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ । समुन्द्रि सतहबतट २१२१ मिटर उचाईमा रहेको माईपोखरी रामसार क्षेत्रमा सूचिकृत भएको छ । जैविक विविधताले भरिपूर्ण माइपोखरीमा दुर्लभ उभयचर र बिभिन्न प्रजातिका चराचुरुङ्गी तथा दुर्लभ रेडपाण्डा जस्ता जीवजन्तु पाइन्छन् । माईपोखरीमा नौं वटा कुनाहरु रहेका छन् । यि नौं कुना देवीहरुको प्रतिकको रुपमा मानिने गरेको छ । यहाँ पूजा गर्न टाढाटाढाबाट आउने गरेका छन् । माइपोखरी सन्दकपुर गाउँपालिकामा पर्ने भएपनि यहाँबाट इलामले पनि प्रत्यक्ष फाइदा लिइरहेको छ ।
इलाम चिया कारखाना, चिया बगान, भालु ढुंगा, माइस्थान मन्दिर, अरनिको संग्राहलय, कोशी प्रदेशमा नै नभएको रक क्लाइमिङ रामसार क्षेत्रमा सूचिकृत माईपोखरी,भाइरल पुल जस्ता दर्जनभन्दा धेरै पर्यटकीय गन्तव्यले पर्यटकको मन लोभ्याउने गर्दछ । यी बिभिन्न पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनको अलावा इलाम नगरपालिकाले विभिन्न कार्य गरिरहेको छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाका अनुसार पर्यटन प्रवद्र्धनको लागि २०८० सालमा गोदकदेखि माइपोखरी देउरालीसम्म खुल्ला महिला तथा पुरुष म्याराथन प्रतियोगिता सञ्चालन भयो । त्यस प्रतियोगितामा नेपालका बिभिन्न ठाउँका साथै विदेशी धावकहरु समेत आएका थिए । यो प्रतियोगिताको लागि इलाम नगरपालिकाले १७ लाख रुपैयाँ खर्च गरेको प्रमुख थापाले बताए । पर्यटकहरुको सहजताको लागि नगरपालिकाले २०८१ भदौ २३ गतेदेखि इलाम नगरपालिका नगर पर्यटन सूचना केन्द्र स्थापना गरेको छ । सूचना केन्द्र स्थापनाले नयाँ आउने पर्यटकहरुलाई धेरै सुविधा भएको धरानबाट घुम्न आएका अजय लम्सालले बताए । नगर पर्यटन सूचना केन्द्रको २०८२ साउन १ गते देखि २०८३ जेठ ३० गते सम्मको तथ्याङ्क अनुसार आन्तरिक तथा बाह्य पर्यटक गरी ३३ हजार ९ सय ५९ जना इलाम आएका छन् । इलाम आउने पर्यटकको विवरण राख्न इलाममा संचालित विभिन्न ६० वटा होटल तथा होमस्टेलाई लक बुक वितरण गरेको नगर पर्यटन प्रवद्र्धन समितिका सचिव अर्जुन पोख्रेलले बताए ।
इलाममा धेरै जसो भारतका विभिन्न भू–भाग र केही अन्य देशहरुबाट पनि पर्यटकहरु आउने र पर्यटकहरुलाई इलामको सबै भू–भाग थाहाँ नहुने भएकोले इलाम नगरपालिका सन्दकपुर गाउँपालिका र पर्यटन कार्यालय काँकडभिट्टाका समन्वयमा पर्यटक गाईड, ड्राइभर र पोटल (भरीया) क्लब गठन गरी लाइसेन्सका लागि सिफारीस गरिएको पोख्रेलले बताए । इलाम नगरपालिकाले पर्यटन प्रवद्र्धनको लागि विश्व पर्यटन दिवशको अवसरमा भिन्न कार्यक्रमहरु गरी मनाइने गरेको छ । नगरपालिकामा संचालित होमस्टेहरुलाई ब्यवस्थित र सुविधा सम्पन्न बनाउनका लागि बिभिन्न तालिमहरु संचालन गर्ने गरेको छ । त्यस्तै नगरपालिकाले नेपाल– भारतको पर्यटन प्रबद्र्धन गर्न सिक्किमका ग्यान्टोकका मेयरहरुसँग बैठक बसी एकआपसमा पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने सहमति भरेको छ । त्यसपछि भारतको सिक्किम ग्यान्टोकलगायत बिभिन्न क्षेत्रका पर्यटकहरुको चहलपहल बढेको प्रमुख थापाले बताए । इलाम नगरपालिकाले पर्यटन प्रवद्र्धनको लागि २०८२ माघ महिनामा बिभिन्न जातजाती, धार्मिक पर्यटन सम्बन्धी छलफल गरेको थापाले बताए । उनका अनुसार इलामका पर्यटकीय स्थलहरुको प्रचारको लागि इलामका गाडी र अटोहरुमा पर्यटकीय स्थलहरुको स्टिकर टासिएको पनि बताए । इलामको पर्यटकीय गन्तव्यहरुलाई विश्वभर चिनाउन इलाम नगरपालिकाले सम्पूर्ण पर्यटकीय गन्तव्य समेटिएको डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनमा प्रसारण समेत गरेको नगरपालिकाको भनाई छ ।
पुर्वी नेपालको दिगो विकास पर्यावरण संरक्षण र स्थानीय पहिचानलाई विश्व माँझ चिनाउने उद्वेश्यका साथ २०८३ जेठ २३ र २४ गते इलाम नगरपालिका नगर पर्यटन प्रवद्र्धन समितिको आयोजनामा केचना कञ्चनजङ्गा रेस्पोन्सिबल टुरिजम मिट २०८३ आयोजना भएको थियो । उक्त कार्यक्रममा नगरपालिकाको १२ लाख ५० हजार खर्च भएको थियो । कार्यक्रमलाई केचनादेखि कञ्चनजङ्गा सम्मका पर्यटन प्रवद्र्धन गर्ने रणनीतिक पहलको रुपमा परिकल्पना गरिएको थियो । गौतम बुद्ध सभागृहमा संचालित कार्यक्रममा समुन्द्र सतहबाट सबैभन्दा होचो स्थान झापाको केचनादेखि संसारकै तेस्रो अग्लो शिखर कञ्चनजङ्गासम्मको जैविक साँस्कृतिक र भौगोलिक विविधतालाई समेट्दै जिम्मेवार पर्यटनको अवधारणालाई प्रवद्र्धन गर्ने उद्धेश्य रहेको इलाम नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी लिम्बु दाहालले बताइन् । दाहालका अनुसार दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धन गर्दा प्रकृति, स्थानीय सँस्कृति र रेडपाण्डा जस्ता वन्यजन्तु र चिया बगान तथा पर्यावरणलाई हानी नपुर्याई कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने विषयमा बहस भइरहेको छ ।
कार्यक्रमा लेण्डरोभर र्याली, साँस्कृतिक झाँकीहरु प्रदर्शन, पर्यटनका विषयमा छलफल, पर्यटकीय गन्तव्यको भ्रमणको कार्यक्रमहरु, पर्यटकीय स्थलहरुको फोटो भिडियो प्रदर्शनी जस्ता कृयाकलापहरु भएका थिए । कार्यक्रममा नेपाल तथा भारतका जनप्रतिनिधि, पर्यटन व्यवसायी, पर्यावरणविद,तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो । यो सम्मेलनले पूर्वी नेपालको पर्यटनलाई नयाँ उचाई दिदैं जिम्मेवार पर्यटन इलाम घोषणापत्र २०८३ जारी गरेको उपप्रमुख दाहालले बताइन् । समग्रमा इलाममा भएका पर्यटकीय स्थलहरुले पर्यटकहरुको मन लोभ्याउनु मात्र नभएर सिंगो इलामको अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने देखिन्छ । नगरपालिकाले यस्ता पर्यटकीय गन्तव्यहरुको पहिचान गरी विश्वभरी इलाम चिनाउन सके इलाम नगरपालिकाको आर्थिक संवृद्धि सुनिश्चित छ ।
(नेपाल पत्रकार महासंघ इलाम र इलाम नगरपालिकाले प्रदान गरेको लेखनवृत्ति अन्तर्गत तयार पारिएको सामग्री ।)







