काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धान गर्न पाँच दिनको समय अदालतले दिएको छ।
सर्वसाधारणको ७० करोड रुपैयाँ ठगी गरेको अरोपमा पक्राउ गरेको उनिसहित सोमबार पक्राउ परेका प्रतिवादीमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोले माग गरेअनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले थप पाँच दिन समय दिएको जिल्ला अदालत काठमाडौँका प्रवक्ता ज्ञानेन्द्र इटेनीले जानकारी दिए।
सिभिल सहकारीमा आबद्ध १३७ जनाको ७० करोड भन्दा बढी रुपैयाँ ठगी गरेको भन्दै सिआइबीमा उजुरी परेपछि सोमबार पक्राउ गरेको थियो।
बुधबार अनुसन्धानका लागि पाँच दिन म्याद थपिएसँगै पक्राउ परेकाहरु दसैँपछिसम्मै थुनामा रहने भएका छन्।
शुक्रबार घटस्थापन भएपछि अदालत बन्दी प्रत्यक्षीकरण र म्याद थप बाहेकका काम नहुने र सिआइबीले पनि अनुसन्धान नसक्ने भएकाले दसैँपछि सम्मै थुनामा रहने भएका छन्। अनुसन्धानका लागि सिआइबीले सामान्य २५ दिन पाउने गर्छ।
पक्राउ पर्नेमा सिभिल सहकारीका पूर्वअध्यक्ष तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित विजयविक्रम शाह, एलिना तुलाधर, दुतराज तामाङ, कैसप चेतन ढुंगाना, भगवानबहादुर सिंह, संगीत श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछाने छन्। उनीहरुले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए।