काठमाडौं । पार्टीको महाधिवेसन समयमै गर्न नसकेर संवैधानिक संकटको अवस्थामा अईपुग्न लागेको नेपाली कांग्रेसको महाधिवेसन तोकिएकै मितिमा हुनेमा आशंका ब्यक्त गर्न थालिएको छ । क्रियाशील सदस्यता वितरणको काम समयमा पुरा हुन नसक्दा कांग्रेसको आगामी महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका ब्यक्त गर्न थालिएको हो ।
आगामी भदौमा पनि १४औं महाधिवेशन गर्न नसके पार्टीको अस्तित्व संवैधानिक संकटमा पर्ने भएपछि जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यताकाबीच कांग्रेसले महाधिवेशनको कार्यतालिका ल्याएको हो । तर, पछिल्लो पटक साढे २ महिनाको समयावधि राखेर शुक्रबार ल्याएको कार्यतालिका पनि कार्यान्वयन हुनेमा नेताहरुले आशंका गरेका छन् ।
कांग्रेसले आसन्न १४ औं महाधिवेशनमा १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य राखेकोमा हालसम्म ८ लाखभन्दा केही बढी संख्यामा क्रियाशील सदस्यताको लागि आवेदन परेको छ । कांग्रेस उच्च स्रोतका अनुसार आवेदनमाथि छानविनको काम अझै सुरु भएको छैन । महाधिवेशनको लागि सबैभन्दा पेचिलो काम नै क्रियाशील सदस्यता छानविन रहेकोमा उक्त समितिमा शुक्रबारसम्म झण्डै ५ हजार उजुरी परेको एक नेताले नीतिसञ्चारलाई जानकारी दिए ।
क्रियासित सदस्यताको आवेदनमाथि उजुरी गर्न ६ गतेसम्मको समयसीमा तोकिएको भएपनि यसअघिको कार्यतालिका क्रियाशील सदस्यता विवादकै कारण प्रभावित भएकाले यसपटक पनि त्यहि नियती दोहोरिने त होइन भन्ने आशंका गर्न थालिएको छ ।
सदस्यता छानविन गर्न असार २० सम्मको समयसीमा
त्यसो त, समितिलाई क्रियाशील सदस्यता छानविनको काम सम्पन्न गरिसक्न असार २० गतेसम्मको समयसीमा तोकेको छ । १२ साउनदेखि अधिवेशन सुरु गर्ने कार्यतालिका ल्याए पनि अझै केही जिल्लामा क्रियाशील सदस्यता विवाद छ ।
छानविन समितिका संयोजन रमेश लेखक समितिको कारण क्रियाशील सदस्यता छानविन कार्यतालिका प्रभावित नहुने दाबी गर्छन। केहि जिल्लामा क्रियाशील सदस्यता सिफारिसप्रति विवाद देखिएको भएपनि सदस्यता छानविनकालागि तोकिएको अवधिमा विवाद समाधान हुने सह–महामन्त्री डा. प्रकाशशरण महतको जिकिर छ।
कांग्रेसको विधानमा चार–चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने व्यवस्था भएपनि कार्यकाल सकेर वर्तमान कार्यसमितिले पार्टी विधान र संविधानको विशेष व्यवस्थाको समेत उपभोग गरिसकेको छ ।
संविधानको व्यवस्थालाई टेकेर थप गरिएको ६ महिने कार्यकालभित्र महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता नै समाप्त हुनेछ । पार्टीको वैधानिकता जोगाउन आगामी भदौमा महाधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि अन्तिम अवसर रहेको छ ।