काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आवश्यक परे सरकार विरुद्ध आन्दोलन थालिने बताएका छन् ।
विपक्षी गठबन्धनले बिहीबार नयाँ बानेश्वरमा गरेको सम्पादकहरुसँगको छलफलमा देउवाले भने, ‘सरकारका कदमविरुद्ध आवश्यक परे जनपरिचालन गर्न सकिन्छ ।’
सरकारका कारण राष्ट्रियत, लोकतन्त्र र संविधान समेत संकटमा परेको देउवाले बताए । लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भन्दै देउवाले यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नवीन संघर्ष जारी रहेको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा गरिएको प्रतिनिधि सभा विघटनले देश संकटमा परेको पनि देउवाले बताए । बहुमत सांसद्हरुको दावी राष्ट्रपतिबाट अस्वीकार भएपछि विपक्षी गठबन्धन अदालत जानुपरेको देउवाले बताए ।
प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण काम भएका देउवाको आरोप छ । प्रधननमन्त्री ओलीको शासकीय अहंकार र स्वेच्छाचारी कामका कारण संविधान सभाबाट जारी संविधान संकटमा परेको समेत देउवाले बताए । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायत राज्य संयन्त्रमाथि नियन्त्रण गर्ने काम प्रधानमन्त्रीबाट भएका देउवाको भनाइ छ ।
कोभिडबाट जनतालाई सुरक्षित राख्न जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्व तयारी नगर्ने जस्ता गैरजिम्मेवार काम पनि प्रधानमन्त्रीबाट भएका देउवाले आरोप लगाए ।
संवैधानिक अंग कब्जा गर्न खोजिएको बताउँदै देउवाले भने, ‘अदालतले असंवैधानिक काम रोक्दै आएको छ ।’
निरंकुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौ भन्ने आह्वान साथ राजनीतिक दलहरु, सञ्चार माध्यम, विभिन्न पेशा, वर्ग, समुदाय, नागरिक समाज, लेखक र श्रमजीवीका बीच वृहत्तर सहकार्य आवश्यक रहेको भन्दै उनले सहयोग गर्न आग्रह पनि गरे ।