मन्थली । सरकारले प्रेस स्वतन्त्रताको विरुद्ध काम गरिरहेको नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले आरोप लगाएका छन। अध्यक्ष पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध सरकारले गरेका कुनै पनि हर्कत स्वीकार गर्न नसक्ने बताएका हुन् ।
सरकारले सूचना तथा प्रशारण कानुन मार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास गरिरहेको भन्दै त्यसलाई लिएर अध्यक्ष पोखरेलले आपत्ति जनाए ।
सूचना र संचारका माध्यम प्रयोग गरेर खोज-अनुसन्धानमा लाग्न भन्नु पर्नेमा संचारमाध्यम नै बन्द गरेर राख्न उद्धत हुने सरकारको रबैया ठीक नभएको उनले औंल्याएका थिए । ‘सरकारमा को छ भन्नेसँग हैन, सरकारले के गरिरहेको छ भन्ने कुरा हेरेर हामी धारणा बनाउछौं’ पोखरेलले भने, ‘यस मुद्दालाई हामी छोड्नेवाला छैनौं ।’
मंगलबार रामेछापको मन्थलीमा आयोजित नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको तेश्रो बैठकमा अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले सरकारको यस्तो गतिविधि विरुद्ध नेपाल पत्रकार महासंघ जस्तोसुकै कडा आन्दोलन गर्नुपरे पनि पछि नपर्ने चेतावनी समेत दिए ।