काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले तोकिएको समय भित्रै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता विश्वकर्माले आगामी भदौको मसान्त भित्रमा पार्टीको सबै तहका अधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका हुन् ।
उनले भने, ‘विधानले पनि संविधानले गर्दा पनि न सार्न सक्छौं, न टार्न सक्छौं । आन्तरिक परिमार्जन गरेर कार्यतालिकामा मिलाएर तोकिएको समय भित्रै महाधिवेशन सम्पन्न हुनेगरी काम गर्छौं ।’
मध्य वर्षाको समय भएकाले गाउँ-गाउँ हुने अधिवेशनका लागि सहज अवस्था नभएको स्वीकार गर्दै उनले त्यसका लागि आन्तरिक व्यवस्थापनबाट सहज अवस्था बनाएर तोकिएकै समयमै महाधिवेशन सम्मन्न हुनेमा शंका नगर्न आग्रह गरेका हुन् ।
भदौ भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक हुने प्रतिनिधिका लागि तल्लो तहका विविध अधिवेशनहरु सम्पन्न गरेर केन्द्रिय महाधिवेशनका लागि आधार बनाउन सहजीकरण गर्ने काम भैरहेको बताउँदै नेता विश्वकर्माले बताए ।
उनले भने, ‘प्रदेश महाधिवेशनका लागि आवश्यक पर्ने प्रतिनिधिहरुको चयन र संघीय अधिवेशनका लागि आवश्यक पर्ने प्रतिनिधिको चयन वडा तहबाट हुन्छन । वडा तहबाट क्षेत्रीय तहका प्रतिनिधिको चयन गर्छन । ती प्रतिनिधिले प्रदेश र संघिय प्रतिनिधिको चयन गर्छन।’
कोरोना महामारीको प्रभाव व्यापक भएकाले ठूला संख्यामा मानिसहरु भेलाहरु नहुने गरि प्रदेश र र केन्द्रीय महाधिवेशनकालागि अत्यावश्यक हुने अधिवेशन गरेर गर्न बाकीं रहेका अधिवेशन पछि गर्ने गरी मिलाउन सकिने नेता विश्वकर्माले बताए ।
क्रियाशील सदस्यताको विवादले महाधिवेशन नरोकिने बताउँदै उनले महाधिवेशन समयमै हुने कुरा ढुक्क हुन आग्रह गरेका छन् ।