काठमाडाैँ । कारागारभित्र ‘असल व्यवहार’ प्रदर्शन गरेकाे आधारमा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरि रहेका चौकीदार अभिषेक गिरी रिहा भएका छन् ।
कानुनले दिएको विशेष सुविधाको प्रयाेग गर्दै उनी निर्धारित सजायभन्दा चार महिनाअघि नै थुनामुक्त भएका हुन् । कैदपूर्जीमा गिरीको कैद भुक्तान अवधि २०८० साउन १६ गतेसम्म भए पनि उनले कारागार भित्र देखाएको असल व्यवहारका कारण समय अगावै कैदमुक्त भएका हुन् ।
स्थानीय प्रशासनको सिफारिसमा कारागार व्यवस्थापन विभागले गिरीलाई कैदमुक्त गर्न आदेश दिएको उनले जानकारी दिए ।
कारागार भित्र गिरी २ पटक चौकीदार र नाइकेसमेत भइसकेका कैदी हुन् । कारागार ऐनमा चौकीदार र नाइके भइसकेका व्यक्तिलाई असल आचरणको आधारमा सजायमा केही छुट दिने व्यवस्था रहेकाे छ ।
गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । कैदीबन्दीलाई यातना, मिटरब्याजको धन्दा र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि २०७४ चैत २३ गते उनलाई काठमडाैंको डिल्लीबजार कारागार सारिएको थियो ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएपछि २०७८ मंसिर ९ गते उनी दोस्रोपटक मोरङ कारागार आएर चौकीदार बनेका थिए ।
युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर २०७० सालमा फिरौती मागेको घटनामा विराटनगर घर भएका गिरीलाई अदालतले दोषी ठहर गरेको थियो ।