काठमाडाैँ । चैत्र ५ गते विराटनगरमा कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित भएको प्रदर्शनमा गम्भीर घाइते पदम लिम्बु लाजेहाङको निधन भएको छ ।
सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते लाजेहाङको शुक्रवार बिहान २.३० बजे निधन भएको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । धरान १५ निवासी लाजेहाङको बिपी प्रतिष्ठान अस्पताल धरानमा आइसियुमा राखी उपचार भइरहेको थियो । थप उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडाैँ लैजाने तयारी गरी रहेको अवस्थामा वीरतापूर्ण मृत्युवरण गरेको विज्ञप्तिमा भनिएको छ । टाउकोमा चोट लागेका लाजेहाङलाई बुधवार राती बान्ता गरेपछि बेहोस भएको अवस्थामा उपचारार्थ बिपी पुर्याइएको थियो ।







