झापा । भुटानी शरणार्थी वृद्ध शन्तवीर घले (७४) को सबै सन्तान पुनर्वास भएर तेस्रो देश गए । भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका नेतासमेत रहेका घले शिविरमा एक्लो जिन्दगी बिताइरहेका छन् । भुटान फर्कने आशले सबै आफन्तले छाडेर तेस्रो देश जाँदा पनि उनी दमकमा रहेको शरणार्थी शिविरमै बसे ।
तर, अहिले उनको जिन्दगी विकल्पविहीन बनेको छ । स्वदेश फिर्तीका लागि नेपाल सरकारले कुनै पहल गरेको छैन । तेस्रो देश पुनर्वासको प्रक्रिया पनि बन्द भइसक्यो । स्थानीयकरणका विषयमा सरकारले चासो नै दिएको छैन । ‘सबै आफन्तले छाडेर गए । बुढ्याउलीले पनि छोयो । न आफन्तसँग भेट्न पाइने भइयो न त भुटान जान नै,’ उनी भन्छन्, ‘अहिले त पछुतो पो लाग्न थाल्यो । हाम्रो जिन्दगीत बन्धक जस्तै भयो ।’
झापाको दमक र मोरङको पथरीशनिश्चरेमा गरी ६ हजार चार जना भुटानी शरणार्थी छन् । तीन दशकअघि भुटान सरकारको दमन सहन नसकेर शरणार्थी भएर नेपाल आएका मध्ये एक लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी अमेरिका, अस्टे«लिया, क्यानाडाजस्ता तेस्रो देश पुनर्वास भइसकेका छन् । पुनर्वास प्रक्रियामा सामेल नभई तीन दशकदेखि शिविरमा शरणार्थी जीवन बिताइरहेका शरणार्थी अहिले विकल्पविहीन भएर शिविरमा जीवन चलाइरहेका छन् ।
भुटानसँग स्वदेश फिर्तीका लागि नेपाल सरकारले पटकपटक गरेको वार्ता पनि सफल हुन सकेन । विगत लामो समयदेखि वार्तासमेत भएको छैन । सन् २००७ देखि सुरु भएको पुनर्वास प्रक्रिया पनि सन् २०१६ मा बन्द भयो । पुनर्वासले शरणार्थीमा पारिवारिक विखण्डनको उपहार दिएर गएको छ ।
‘परिवारका सबै अमेरिका गए । श्रीमानले पनि छाडेर विदेश लागे । भाषा पनि नबुझिने ठाउँमा मलाई चाहिँ जान मन लागेन’ शरणार्थी वृद्धा बुद्धमाया राई भन्छिन्, ‘अर्काको देश गएर त सबैले बिर्सिए । अहिले शिविरमा एक्लै छु । परिवारको साह्रै याद आउँछ । अब त जिन्दगी यसरी नै बित्छ होला ।’
भुटानी शरणार्थीको ९२ प्रतिशत समस्या पुनर्वासले समाधान गरेको भन्दै दातृ निकाय शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)को दमक कार्यालय सन् २०२१ को जनवरीबाटै बन्द भइसकेको छ । अहिले काठमाडौंबाट नै युएनएचसिआरले हेर्दै गरेको बताइएको छ ।
तर, विगतमाजस्तो रासन उपलब्ध नगराउँदा शरणार्थीलाई समस्या भएको पूर्वशिविर व्यवस्थापन सचिव युवराज राई बताउँछन् । नेपाल सरकारले पहल नगरेका कारण बाँकी रहेका शरणार्थीको जीवन अन्योल भएको शरणार्थी शिविर व्यवस्थापन समितिका पूर्वसचिव चिरञ्जीवी राईको भनाइ छ ।
‘हामी त बन्धकजस्तै भयौँ । पुनर्वास बन्द भयो । हाम्रो माग पुनर्वास खोलेर पारिवारिक विखण्डनमा परेका भुटानी शरणार्थीको पुनर्मिलन गराइनुपर्छ,’ उनी भन्छन्, ‘भुटान जान चाहनेलाई पनि नेपाल सरकारले वार्ता गरेर पठाउन पहल गर्नुपर्छ । यहीँ बस्न चहानेलाई पनि नागरिकता दिएर राख्नुपर्छ । हैन भनेर देशविहीन । सामान्य परिचयविहीन पनि बनाइनुहुँदैन । हाम्रो पनि त मानव अधिकार होला नि ।’
भुटानी शरणार्थी शिविरमा अझै केही दर्ताविहीन रहेका कारण उनीहरुको दर्ता प्रक्रिया पनि अघि बढाइनुपर्ने उनी बताउँछन् । ‘विगतमा शिविरमा गरिखानै गाह्रो भएर बाहिर कमाउन गएकाको दर्ता छुटेको छ । अहिले उनीहरु झन् अप्ठेरोमा छन्,’ राई भन्छन्, ‘कम्तिमा उनीहरुको पनि दर्ता गर्नुपर्छ । सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ ।’
युएनएचसिआरले दमक कार्यालय बन्द गर्नुभन्दा अघि गरेको सर्वेक्षणअनुसार शिविरमा रहेका शरणार्थीमध्ये नेपालमै स्थानीयकरण हुने चाहनेको संख्या धेरै रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।