काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस, बाँकेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन महिनाभित्र कुनै मन्त्रीले बाहिर अनुहार नदेखाएर परिणाम आउने गरी काम गर्न सुझाव दिएका हुन् ।
अबको पाँच महिनासम्म पनि परिणाम नआए जनताको धैर्यता टुट्ने उल्लेख गर्दै त्यसैका कारण मुलुक दुर्घटनामा पर्न सक्ने उनले चेतावनी दिएका छन् ।
“प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन्”, महामन्त्री थापाले भने । उनले सरकारले परिणाममुखी काम गर्न सके त्यसले लय समात्ने बताउँदै सरकारको स्थिरताको लाभ जनताले लिन सक्नुपर्नेमा जोड दिएका थिए ।
महामन्त्री थापाले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने बताए । “हामी अब विसं २०८४ को निर्वाचन आफ्नै तागतमा लड्नुपर्छ”, उनले भने ।
शान्ति प्रक्रियाको काम नेपाली कांग्रेसले सुरु गरेकाले यसलाई निष्कर्षमा पु¥याउन आवश्यक भएकामा जोेड दिँदै युद्धमा स्वच्छेचारी ढङ्गले भएका हत्या र अपराधलाई उन्मुक्ति दिन नहुने बताए ।
नेपाली कांग्रेसकी राष्ट्रियसभामा सचेतक अनिता देवकोटाले शान्ति प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गोमा पुर्याउनुपर्ने उनको भनाई छ ।








