कञ्चनपुर । जिल्लाको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दुर्घटनामा परी बेल्डाडी गाउँपालिका–४ का अमरबहादुर ठकुरीका अन्दाजी आठ÷नौ वर्षीय छोरा इस्बन्धन ठकुरीको मृत्यु भएको बताए ।
दुर्घटनामा परी मोटरसाइकल चालक टेकेन्द्रप्रसाद भट्ट र बाह्र वर्षीय अर्चना जोशी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी बालिकालाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृतमा अनुसन्धान भइरहेको बताउँदै प्रवक्ता डाँगीले भने, “अर्धचेत अवस्थामा रहेका घाइते मोटरसाइकल चालकको महाकाली अस्पतालमै उपचार हुँदैछ।”
उनका अनुसार मृतक बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।