इलाम ः इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ । केही समय अघि देखी नै परिक्षणको रुपमा खानेपानी वितरण हुँदै आएको थियो । इलाम बजारमा खानेपानी वितरणको काम इलाम नगरपालिकाले नै गरिरहेको छ ।
काम सम्पन्न भए पनि सन २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नु पर्ने जनाइएको छ । निर्माण सम्पन्न भएपछि सो आयोजनाको आज अनुगमन समेत गरिएको छ । जिल्ला स्थित राजनितिक दल, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितीमा सो खानेपानी आयोजनाको अनुगमन गरिएको थियो ।
नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बीच सम्झौता भएर चार वर्ष अघि काम सुरु भएको थियो । आयोजनाको काम ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो ।
एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानिय उपभोक्ताहरुले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।
खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनु भएको छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिव ४३ लिटर पानी आइरहेको छ ।आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको छ ।
आयोजना अन्तर्गत सुरुमा २८ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष लिइएको थियो । पछि थप भएर ३३ सय ४४ घरमा आयोजना मार्फत नै खानेपानी वितरण भएको छ । पुन तीन सय वढि उपभोक्ताको संख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताहरुको घरघरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ । हाल समेत दैनिक दुई पटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इन्जिनियर कपिलदेव यादवले बताउनु भएको छ । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भएपनि यसलाई आफुहरुले मर्मतको काम गरिरहेको उहाँको भनाई छ ।गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ ।उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ ।