कठमाण्डौं २२ साउन । सहकारीको पैसा चोरी गरेको आरोपमा बाह्रबिसे ईलाका प्रहरीले पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु भएको छ ।
बाह्रबिसे ईलाका प्रहरीले पक्राउ गरेको चार दिनमा उक्त युवकको प्रहरी हिरासतमै मृत्यु भएको हो । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–७ का बसेला तामाङ रहेका छन् । उनलाई प्रहरीले साउन १८ गते सहकारीको पैसा चोरी गरेको आरोपमा पक्राउ गरेर हिरासतमा राखेको थियो ।
सार्वजनिक केही तस्वीरमा मृतक तामाङको शरीरभरी निलडाम देखिएको कारण प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्त र स्थानीयको आरोप छ । । प्रहरीले हिरासतमा राख्दा कुटपिट गरेर मारेको भन्दै स्थानीय र आफन्त आक्रोशित भएका छन् ।
तर, ईलाका प्रहरी कार्यालय बाह्रबिसेले भने हिरासतमा मृत्यु नभएको दावी गरेको छ । स्वास्थ्य अवस्था खराब भएका तामाङलाई धुलिखेल अस्पताल लगिएकोमा अस्पताल पुगेपछि मृत्यु भएको प्रहरीको भनाइ छ । तर यता स्थानीयले भने तामाङको स्वास्थ्य अवस्था पक्राउ पर्नुअघि राम्रो रहेको भनेका थिए ।
तामाङको मृत्युको वास्तविकता बारे बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली बाह्रबिसे पुगेको छ । टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।