काठमाडौं । निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता पक्राउ परेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कारको अभियान संचालन गर्ने मसालका कार्यकर्ताहरुलाई मंगलबार बागलुङको कुश्मिसेरा बजारमा आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले जानकारी दिए । उनीहरुलाई निर्वाचन विरोधी पर्चासहित कोणसभा कार्यक्रम गरेको स्थानबाट पक्राउ गरिएको उनले बताए ।
पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक रहेका छन् ।
यस्तै नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पनि पक्राउ परेका छन् ।