एजेन्सी । इरानमा नयाँ राष्ट्रपति चुन्न मतदान भएको छ । इरानका सर्वोच्च नेता अयातुल्ला खामेनेईसहित शीर्ष नेताले मतदान गरेका छन् ।
मतदानबाट सुधारवादी छविका वर्तमान राष्ट्रपति हसन रुहानीको उत्तराधिकारी चुनिने छ । मैदानमा एक जनाबाहेक सबै कट्टरपन्थी विचारधाराका उम्मेदवार रहेका छन् ।
सर्वेक्षणहरुमा न्यायपालिकाका प्रमुखसमेत रहिसकेका एक रुढिवादी शिया मौलवी इब्राहिम रायसीले जित्ने आंकलन गरिएको छ । उनको मुख्य प्रतिष्पर्धीमा नरमपन्थी केन्द्रीय बैंकका पूर्व गभर्नर अब्दोलनासर हेम्मतीलाई मानिएको छ ।
केही असन्तुष्ट र सुधारवादीहरुले भने निर्वाचन बहिष्कारको घोषणा गरेका छन् । आफ्नो मत हाल्दै सर्वोच्च नेता खामेनेईले मतदानका लागि बुथसम्म आउन सबै नागरिकलाई अपील गर्नुभएको छ ।
तीन वर्ष पहिले अमेरिकासँग परमाणु सम्झौतामा मतभेद भएयता इरान गम्भीर आर्थिक संकटमा परेको छ । पश्चिमाले नरुचाइएका कट्टरपन्थी उम्मेदवार विजयी बन्ने सम्भावना भएकाले उनको समयमा सम्बन्ध सुधार हुने अपेक्षा कमै गरिएको छ ।
चुनावका लागि ४० महिलासहित ६०० उम्मेदवारले उम्मेदवारीको चाहना व्यक्त गरेको भए पनि जम्मा सात जनाको नाममात्र गार्जियन काउन्सिलले अनुमोदन गर्यो । त्यसमा पनि तीन जनाले चुनावी मैदानमा नजाने निर्णय गरी आफ्नो नाम फिर्ता लिएका थिए ।
राष्ट्रपति पदमा चुनिन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था रहेको इरानमा कसैले त्यति मत ल्याउन नसके दोस्रो चरणमा फेरि मतदान गराइनेछ ।
आठ करोड जनसंख्या रहेको इरानमा करिब ६ करोड जनता मतदानका लागि योग्य मानिएका छन् । सन् २०१७ मा सम्पन्न निर्वाचनमा ७३ प्रतिशत मतदान भएकामा यस पटक त्यो संख्या ४२ प्रतिशतमा झर्ने बताइएको छ ।