इलाम । जिल्ला अदालत इलामले वन तस्करीमा संलग्नवन समूहका अध्यक्ष सहित दुई जनालाई पुर्वक्षकालागी थुनामा पठाउने आदेश दिएको छ । अदालतको आदेश अनुसार दक्षिणी इलामको माई नगरपालिका ८ स्थित शिवसतासी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हेम बहादुर थापा र उक्त समूहका कार्यालय सचिव केदार बहादुर भट्टराई कारागार चलान भएका हुन् ।
डीभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार जिल्ला अदालत इलामको गत भदौ २९ को आदेश अनुसार माई नगरपालिका ८ का वडा सदस्य राजकुमार राई सहित पाँचजना धरौटीमा रिहा भएका छन् । राई र शिवसतासी वन समूहका सदस्य बद्री थापा जनही दुई लाख धरौटीमा रिहा भएका छन् ।
समूहकै सदस्य शेर वहादुर वुढाथोकी लाई ५० हजार धरौटीमा छाड्ने आदेश अदालतले दिएको छ । यस्तै वन तस्करीमा संलग्न ट्याक्टर चालक पदम बहादुर तामाड. र आरा काट्ने सुमन राईलाई जनही १० । १० हजार धरौटीमा थुनामुक्त गर्ने आदेश भएको छ ।
वन तस्करीका मुख्य योजनाकार वन समूहका उपाध्यक्ष खेम कुमार बुढाथोकी र इलाम चुलाचुली २ का धनबहादुर राई भने फरार रहेका छन् ।
वन समूह भित्रको १७ वटा काँचा सखुवाका अनियमित रुपमा रुख काटेर विक्रि गरेको पाइएपछि डिभिजन वन कार्यालयले उक्तवन समूहका पदाधिकारी सहित नौ जना विरुद्ध जिल्ला अदालत इलाममा मुद्धा दायर गरेको थियो । समूहका पदाधिकारीको मिलेमतोमा समूहको एक हजार आठ सय ८७ क्युविक फिट काठ चिरान गरीएकोले रुपैया १८ लाख ८७ हजारको विगो मागदावि गरिएको छ । डिभिजन वनले पक्राउ गरेका वन समूहका पदाधिकारी सहित नौ जना विरुद्ध गत भदौ १८ मा जिल्ला अदालत इलाममा मुद्धा दायर गरेको थियो ।दक्षिणी इलामको चुरे क्षेत्रमा रहेको शिवसतासी सामुदायिक वन काउपभोक्ता समूहका सदस्यहरु झापाको झिलझिले क्षेत्रका रहेका छन ।