दमक । राष्ट्रिय प्रजात्रन्त्र पार्टीले आज झापामा शक्ति प्रदर्शन गर्ने भएको छ ।
मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म ल्याइने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा सहभागी बन्न पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न झापा आइपुगेका हुन्।
बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण आज पूर्वराजा शाहले गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।
कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ । कार्यक्रमलाई सफल बनाउन भन्दै राप्रपा अध्यक्ष लिङ्देन करिब १० दिनदेखि झापामै छन् ।
पूर्वराजा शाहसहितको र्यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने कार्यक्रम रहेको लिङ्देनले बताए।
उनका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्नेसमेत कार्यक्रम छ । कार्यक्रममा ५० हजारको सहभागिता रहने आयोजकले दाबी गरेका छन् ।