काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आइतबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भएको छ।
बालकुमारी घटना, टेरामक्स प्रकरण र रामग्राम क्षेत्रको जग्गा भाडामा दिने विषयमा प्रश्न उठेका मन्त्रीहरूको राजीनामा माग्दै आजको बैठकमा विरोध जारी राख्ने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
नेकपा एमालेले टेरामक्स प्रकरणमा मुछिएर अख्तियारमा बयान दिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई अविलम्ब वर्खास्त गर्नुपर्ने बताएको छ ।
अख्तियारलाई स्वतन्त्र रुपमा उक्त प्रकरणमा छानविन गर्नका लागि पनि मन्त्री बस्नेतलाई हटाउनुपर्ने एमालेको भनाइ छ । मन्त्री बस्नेतलाई दाग लागेको भन्दै फिर्ता बोलाउनुपर्ने आवाज कांग्रेसभित्रै पनि उठ्न थालिसकेको छ ।
प्रतिनिधि सभाको बैठक आइतबार ११ बजे बस्दै छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसैगरी, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने संसद् सचिवालयकाे सम्भावित कार्यसुचिमा उल्लेख छ ।