इटहरी । इटहरीमा सामूहिक नेपाली जुत्ता विक्री कक्ष सञ्चालनमा आउने भएको छ । विभिन्न नेपाली ब्रान्डका जुत्ताहरू पाइने गरी जुत्ता विक्री कक्ष सञ्चालनमा आउने भएको हो ।
नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने नारा सहित इटहरीमा फागुन १२ गतेदेखि सञ्चालन भएको प्रथम चुत्ता चप्पल व्यापार मेला २०८० फागुन २२ गते मङ्गलवारबाट सम्पन्न हुने र सोही स्थानमा बिक्री कक्षको स्थापना गरिने भएको हो । जुत्ता चप्पल महोत्सवमा उपभोक्ताहरूले स्वदेशी उत्पादनलाई रुचाएको मेलाका संयोजक होमनाथ उपाध्यायले बताए ।
उपभोक्ताको माया र विश्वासलाई आत्मासाथ गर्दै नेपालमा स्थापित चर्चित नेपाली ब्रान्डहरूले देशका विभिन्न स्थानमा सो रुम सञ्चालन गर्दै आएको उनले बताए ।’हामीले देशका विभिन्न स्थानहरूमा सो रुम सञ्चालन गर्दै आएका छौ र इटहरीमा सञ्चालन हुने सो रुम आठौँ सो रुम हो’ संयोजक उपाध्यायले भने ।
नेपाली जुत्ता चप्पल उत्पादन गर्दै आएका उद्योगीहरूले ग्राहकलाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध होस भनेर बिक्री कक्ष स्थापना गर्न लागेको उनले बताए । सामूहिक नेपाली जुत्ता बिक्री कक्षमा रोयल सुज, क्रस रोड सुज, वीएफ डियर हिल सुज, फस्ट वाक सुज, डिजे सुजका उत्पादनहरू उपलब्ध हुने बिक्री कक्षका सञ्चालक नानीराज घिमिरेले बताए । बिक्री कक्षमा तीन हजार मोडलका जुत्ता चप्पल पाइने छन् ।
बिक्री कक्ष स्थापनाका लागि आवश्यक पर्ने कागजी प्रक्रिया पुरा भएको र एउटै बिक्री कक्षबाट ६ वटा ब्रान्डका जुत्ताहरू छानी छानी किन्न सकिने सञ्चालक घिमिरेले बताए । बिक्री कक्षमा पनि १५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ ।
स्थायी सो रुमका लागि डेकुरेसन लगायत पूर्वाधार तयार गर्न समय लाग्ने भएकाले केही समयका लागि जुत्ता चप्पल व्यापार मेला लागेकै स्थानलाई बिक्री कक्ष बनाइएको आयोजकले जानकारी दिएको छ ।