इलाम । इलाम क्षेत्र नम्बरमा आगामी वैशाख १५ गते उप निर्वाचन हुँदै छ । जसका लागि १२ वटा दल र सात स्वतन्त्र उम्मेद्धारले मनोनयन दर्ता गराएका छन् ।
उनीहरू पछिल्लो समय जनताका घरघरमा पुगेर मत माग्न व्यस्त भएका छन् । दल तथा दलका उम्मेद्धारहरु ठुलो सङ्ख्यामा मत माग्न हिँड्ने गरेका छन् । उनीहरूले केन्द्र स्तरका नेता समेत ल्याएर जनतासँग मत माग्ने काम गरिरहेका छन् ।
स्वतन्त्र उम्मेद्धारहरुले भने विशेष गरेर घरदैलो कार्यक्रम गर्दै आएका छन् ।
यस क्षेत्रमा नेकपा एमाले र नेपाली काँग्रेसले प्रतिष्ठाको लागि भए पनि आफ्नै उम्मेदवार जिताउनु पर्ने भन्दै मत मागिरहेका छन् । यस पटकको चुनावमा स्वतन्त्र पार्टी समेत यहाँ मनोनयन दर्ता गराएर चुनावी मैदानमा छ ।
यस अघि निर्वाचित सांसद नेम्वाङको मृत्यु भएपछि अघिल्लो पटकको चुनावमा उनकै निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सभापति समेत रहेका डम्बर बहादुर खड्का आफूले उम्मेदवारी दर्ता गराएर आफूले जित्ने पक्का भएको बताएका छन् ।
संविधान सभा अध्यक्ष समेत रहनु भएका सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ बुबाको अधुरा सपना पुरा गर्ने भन्दै राजनीतिमा होमिएका छन् । बुबाको मृत्यु पछि छोराले टिकट पाएपछि एमाले समेत चुनावी कार्यक्रममा व्यस्त छ ।
स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु समेत घरदैलोमा छन् । उनले इलाम क्षेत्र नम्बर दुईको मुहार फेर्ने भन्दै चुनावी मैदानमा छन् ।
त्यस्तै पहिचानवादी पक्षहरूका तर्फबाट साझा उम्मेद्धारका रूपमा डकेन्द्रसिंह थेगिमले समेत उम्मेदवारी दिएर मत माग्न व्यस्त छन् । प्रदेश नम्बर एकमा पहिचानको मुद्दा उठिरहेका समयमा उनले पहिचानवादी एक हुनु पर्ने भन्दै जनताको घरघरमा पुग्दै आएका छन् ।
यहाँ १२ दलका उम्मेद्धारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै सात स्वतन्त्र उम्मेद्धारले समेत मनोनयन दर्ता गराएर चुनावी मैदानमा छन् । उनीहरूले समेत अब पार्टीको काम नभएको भन्दै स्वतन्त्र रूपमा काम गर्ने वातावरण बन्ने भन्दै आफूहरूलाई जिताउन आग्रह सहित मत मागिरहेका छन् ।
यस क्षेत्रबाट निर्वाचित एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुने भएको हो ।
यहाँ निर्वाचन आचार संहिता लागू भएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाममा मतदान स्थल तोकेको छ ।
इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र कायम गरिएको छ ।
इलाम दुईमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा तर्फ एक लाख पन्ध्र हजार आठ सय ८९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।