इटहरी । इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना गरिएको छ ।
विहिवार विद्यालय प्राङ्गणमा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट आएका मानिसहरूको निःशुल्क आँखा जाँच तथा शिविर गरिएको हो । नवदृष्टि आँखा अस्पताल इटहरीसँगको सहकार्यमा विद्यालयले आँखा जाँच गरेको हो ।
विद्यार्थीहरुमा आँखामा समस्याहरु बढेको पाइएपछि विद्यार्थीहरुलाई लक्षित गरि निःशुल्क शिविर गरिएको विद्यालयका सह–प्रधानाध्यापक रमेश निरौलाले जानकारी दिए ।
उनका अनुसार स्कूले विद्यार्थीमा फरक कारक प्रकृतिका आँखाका समस्या देखिएकाले अध्ययन, अध्यापनमा समस्या हुन नदिन र बेलैमा उपचार गर्न प्रेरित गर्ने उदेश्यले शिविर आयोजना गरिएको हो ।
‘हामीले आयोजना गरेको शिविरमा चारसय जना लाभान्वित हुनुभएको छ,’ निरौलाले भने, ‘अस्पतालसँग सहकार्यमा थप उपचार हुने व्यस्था गरेका छौँ ।
स्कुल अध्ययन गर्दै गरेका विद्यार्थीहरुको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरिएको अस्पतालका अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा।विजय गौतमले बताए ।
आँखा शिविरमा ३७३ जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको अस्पतालले जनाएको छ । शिविरमा आँखामा दृष्टि दोष, मांसपेशीको समस्या एलर्जी देखिएका ४९ बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि नवदृष्टि आँखा अस्पताल इटहरी रेफर गरिएको थियो । पछिल्लो समय विद्यार्थीहरूले मोबाइल तथा डिजिटल माध्यमहरूको जथाभाबी प्रयोग बढेपछि आँखाका बिरामीहरू निकै बढ्दै गएका छन् ।
आँखा सम्बन्धी सचेतना जगाउँदै निःशुल्क परीक्षण समेत गर्दे आएको नवदृष्टिले पूर्वी पहाडी जिल्लाहरू,सङ्खुवासभा,भोजपुर,धनकुटा सम्मका बिरामीहरूको आँखा परीक्षण गर्दे आएको जनाएको छ ।
परीक्षणका क्रममा विद्यार्थीहरूमा मायोपिया अर्थात् अदुरदष्टिका बिरामीहरू बढी देखा पर्ने गरेको अस्पतालले जनाएको छ । विद्यालय तहकै विद्यार्थीहरूमा उक्त रोग देखिन थालेपछि अस्पतालले विभिन्न जिल्लाका विद्यालयहरूमा समेत आँखा शिविर गरी परीक्षणलाई तीव्रता दिएको नेत्र विशेषज्ञ राकेश थापाले बताएका छन् ।