इलाम । इलाम नगरपालिका २ सुम्बेकमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेका छन् । सुम्बेकको बिक्री भन्ने स्थान पराजुली गाउँमा बसोबास गर्दै आएका उनीहरू एकै ठाउँमा दुई वटा डोरी लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
करिब ४३ वर्षीय फूलमाया तामाङ र छोरा अन्दाजी २० वर्षीय जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
श्रीमान् फुर्देन तामाङ घरमा नभएको अवस्थामा शनिबार सांझउनीहरूलाई घरको सुत्ने कोठामा प्लास्टिक डोरीको पासामा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकरी तथा डिएसपी प्रकाश जवेगुले बताए ।
उनका अनुसार स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी निरीक्षक शिव कट्टेलको कमान्डमा प्रहरी खटाएर घटनाको मुचुल्का तयार पार्ने काम भइरहेको बताइएको छ ।
कानुनी प्रक्रियाको लागी काम भइरहेको सूचना अधिकारी जवेगुको भनाई छ ।
घरमा आमा छोरा बस्दै आएका थिए । श्रीमान् तथा बुबा फुर्देन तामाङ कामका लागि घर बाहिर भएको अवस्थामा सो घटना घटेको इलाम नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष गिरिराज रिजालले बताए ।
उनका अनुसार बुबा मिस्त्री कामका लागि बाहिर नै बस्ने गरेको जनाइएको छ । छोरा समेत गाउँमा नै मिस्त्री काम गर्दै आएका थिए ।
घरकै काम गर्दै आएकी आमा र छोरा आफैँ झुन्डिएको वा अन्य केही भन्ने भएको विषयमा खोजी भइरहेको प्रहरीको भनाई छ ।