इलाम । चुलाचुलीमा फलेर लटरम्म लिचीको स्वाद लिन विभिन्न स्थानबाट मानिसहरु आएका छन् । यहाँको लिची घरमै व्यापारीहरु आएर राजधानी काठमाडौं लगायतका बजारमा लाने गरेको किसानहरुले बताए ।
चुलाचुली गाउँ पालिका वडा ५ को लाहुरे बस्तीका युवाहरुले लगाएको लीचि खेतीमा विभिन्न क्षेत्रका मानिसहरु आकर्षित भएका छन् । लिची बगानमा आएर टीपेर स्वाद लिने र किनेर लाने व्यापारिहरुको लाहुरे टोलमा भिडभाड बढेको छ । विद्यालयका विद्यार्थीहरु र भ्रमण टोली समेत लीचि बगानमा आउने गरेका छन् । लिची खेतीमा अगुवा कृषक प्रकाश राईले लिचिको पहिलो टिपाइमै धेरै स्थानबाट लिचिको स्वाद चाख्न मानिसहरु आएको जानकारी दिए । उनले यो सीजनको लिचि समाप्त भएको बताए ।
लाहुरे टोलमा सिडलेस, चाइनिज र मुजफ्फपुर जातका लिचि किसानहरुले लगाएका छन् । चाइनिज लिचिको स्वाद गुलियो भएको र यो एक बोट लिचिबाट १२ हजार सम्म आम्दानी भएको किसानहरुको भनाई छ । यस्तै चर्चामा रहेको सीडलेस लिचि पनि विस्तार भएपनि ढिलो पाक्ने बताइएको छ । यो लीचीको विरुवा भने धेरै माग भएको पनि राईले जानकारी दिए । गाउँभर नै विस्तार भएको लिचि एक विगाहामा दुइ सय बोट लगाउन सकिने बताइएको छ ।
लाहुरे टोलकै अर्का किसान मिलन राईले यो वर्ष सुख्खा मौसमले प्रभावित भइ कम फलेको र ग्राफ्टीङ गरीएको विरुवाहरु मरेको बताएका छन् । अगुवा लिचि उत्पादन हुँदा घरमा नै एक सय ४० रुपैया किलो विक्रि भएको पाइएको छ । खुद्रा नै प्रत्येक घरबाट लिची एक डेढ लाख बराबरको बेचेको किसानहरु बताउँछन् । राईले लिचिको स्वाद लिन आउनेलाई खान सितैमा लानेलाई मात्र पैसा लिएको बताए । लिचि बगान प्रशस्त भएपनि सुख्खा याममा सिचाई उपलव्ध नभएको किसानहरुको भनाई छ । यहाँको केहि भाग मुनी मात्र रतुवा सिचाई नहर भएकाले माथिल्लो क्षेत्रमा भने सुख्खायाममा समस्या हुने गरेको छ । हावापानी सुहाउदो क्षेत्र भएकाले चुलाचुली लिचि पकेट क्षेत्रको रुपमा विकास हुदै गएको छ ।