ओखलढुंगा । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनका क्रममा ओखलढुंगाका ७५ मध्ये ६८ वडामा नयाँ नेतृत्व चयन भएको छ । जसमध्ये ६७ मा सहमति र एउटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।
अहिलेसम्म सात वडामा सहमति नहुँदा समिति घोषणा भएको छैन । निर्वाचनभन्दा सहमतिमै नेतृत्व चयन गर्न सबै पक्षको जोडबल भए पनि दाबेदार धेरै भएकाले छलफल जारी रहेको नेताहरुले बताएका छन् । चिशंखुगढी–५ मा भने निर्वाचन भएको कांग्रेस उपसभापति तेजेन्द्र खनालले जानकारी दिए ।
अधिवेशन सकिएका वडाहरुमा क्षेत्रीय प्रतिनिधिहरुसमेत चयन भइसकेका छन् । कतिपय वडामा नेताहरुको दबाबमा आफन्त र परिवारका सदस्यलाई प्रतिनिधि बनाएको भन्दै विरोध भएको छ ।
एउटा वडामा महिला वडासभापति
सुनकोसी गाउँपालिका–७ बाट ३३ वर्षीया सपना खत्री कांग्रेस वडासभापति निर्वाचित भइन् । उनी निर्विरोध भएकी हुन् ।
जिल्लाका केही वडाको अधिवेशन सम्पन्न हुन बाँकी छ । हालसम्म निर्वाचित भएका वडासभापतिमा सपना एक्ली महिला हुन् । वडा अधिवेशनमा सपनासँगै अन्य ६ जनाले पनि वडासभापतिमा दाबी गरेका थिए ।
‘महिलालाई कोटामा मात्रै सीमित गराउने होइन, अर्थपूर्ण सहभागिता पनि गराउनुपर्छ भनेर वडासभापतिमा दाबी गरेँ,’ सपनाले भनिन्, ‘जसले गर्दा सर्वसम्मत निर्वाचित भएँ ।’ सपना वडा नं ७ को वडा सदस्यसमेत हुन् । उनी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत छिन् । उनले अग्रजहरुको सुझावलाई मनन् गरेर पार्टीलाई अब्बल बनाउने बताइन् ।