काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणले ७२ घण्टाका लागि बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई उडान भर्न रोक लगाएको विषय उनको उडान क्षमतामाथि प्रश्न उठाइएको नभएकाे जनाएकाे छ ।
दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मानसिक तनावलाई ख्याल गर्दै शेर्पालाई केही दिन आराम गर्न बिदा दिइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए ।
महानिर्देशक क्षेत्रीका अनुसार दुर्घटनाको नजिक पुगेपछि पाइलटलाई हुन सक्ने मानसिक तनावलाई ख्याल गर्दै उनलाई केही दिन आराम गर्न बिदा दिएको हो । उनको उडान क्षमतामाथि प्रश्न उठाइएको होइन ।
सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको ९–एनएएनआई एटीआर जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको थियो ।
विमानको चक्का (ल्यान्डिङ गियर) डाउन नभएको र थ्री ग्रिन सिग्नल नबलेपछि पाइलट शेर्पाले विराटनगर विमानस्थलमा अवतरण गराउन सकेका थिएनन् ।
त्यसपछि काठमाडौं फर्किएको जहाज काठमाडौंको आकाशमा केही फन्को लगाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पाइलट शेर्पाले सुरक्षित अवतरण गराएका थिए ।
आइकाओका नियम अनुसार नै पाइटल शेर्पालाई केही दिन आराम गर्न भनिएको उनले बताए । ‘जोखिमपूर्ण उडान गर्दा आरामा चाहिने भएकाले शेर्पालाई आरामा गर्न भनिएको हो । जोखिमपूर्ण उडान पनि स्वाभाविक रुपमा आराम चाहिन्छ । यो आइकाओ मापदण्ड अनुसार हो ।’