विराटनगर । नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश १ मा सरकार गठनको सम्भावना रहेको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन्।
शनिबार सञ्चारकर्मीसँग विराटनगर विमानस्थलमा कुराकानी गर्दै खड्काले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने बताएका हुन् ।
डा. खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेजमा निर्णय गरिने बताए ।
उनले प्रदेश १ र बागमतीमा आधा/आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर, अहिलेसम्म निर्णय नभएको उनको जिकिर छ ।
मन्त्री खड्काले कांग्रेसको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताए।
एक प्रश्नको जवाफमा ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने उनले बताए।