काठमाडौं । महाधिवेशन सकिएको डेढ महिनापछि नेकपा (माओवादी केन्द्र) ले पार्टी कमिटीलाई पूर्णता दिने भएको छ ।
केहि दिन यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक यही माघ २७ गते बोलाइएको छ । सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने माओवादी केन्द्रले जनाएको छ ।
गत पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय समिति बैठक कोरोनाका कारण बस्न नसके पछि अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको आन्तरिक परिपत्रमा रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन लगायतका निर्णय गर्ने उल्लेख छ ।
परिपत्रमा बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।
साथै अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुको इन्चार्जहरुलाई नै जिम्मेवारी दिने माओवादीको तयारी छ ।