- प्रेम नारायण भुसाल
असोज महिनाको सुरुवातसँगै नेपालीका ठूला मेलापर्व दशैँ र तिहारको रमझम सुरु भइसकेको छ । दशैँ, तिहार धार्मिक तथा सांस्कृतिक पर्व हुन् । निष्फीक्रि भएर घरपरिवार तथा साथीसङ्गातीसँग खेल्न पाइने भएकाले बालबालिका यति बेला धेरै नै खुसी हुन्छन् । फुर्सदिलो समय भएकाले बढी उनीहरू स्मार्टफोनमा झुम्मिन रुचाउँछन् ।
धेरैजसो विद्यालय दशैँदेखि तिहारसम्मका लागि बन्द हुनेछन् भने केही दशैँ र तिहारको बीचमा ८–१० दिन खुल्ने छन् । सबैजसो विद्यार्थी यतिखेर लामो बिदा पाएर मक्ख पर्ने गर्दछन् । बालमनोविज्ञानलाई बेवास्ता गर्र्ने प्रवृत्तिका कारण मेलापर्वको बिदामा सबै बालबालिका उमङ्गित भने हुन सकेका छैनन् । दशैँलगत्तै स्कुल खुुल्ने भएकाले अरू साथीहरूजस्तो रमाउन नपाउने पिरलो एकथरी विद्यार्थीको देखिन्छ भने अर्काथरी गृहकार्यको भारले थचक्कै थिचेको अनुभव गरी मेलापर्वमा उत्साहित हुनुको साटो बरु नियमित स्कुल नै भइदिएको भए हुन्थ्यो भन्ने मनस्थितिमा पनि देखिन्छन् ।
अभिभावकको भूमिका
केही कामकाजी अभिभावक स्कुलले लामो बिदा दिएकाले छोराछोरी व्यवस्थापनमा निकै कठिनाइ महसुस गरिरहेका छन् । बच्चाको बिदाका कारण आफ्नो दैनिक कार्यतालिका नै बिग्रेकाले उनीहरू एक किसिमको तनावमा देखिन्छन् । आफूसँगै कार्यस्थलमा लैजान पनि नमिल्ने अनि घरमा एक्लै छोड्न पनि नसक्ने भएकाले आलोपालो गर्ने वा छरछिमकी र इष्टमित्रको सहयोग माग्ने अवस्थामा उनीहरू रहेका छन् भने बच्चालाई आफूले नियन्त्रण गर्न नसकेकाले धेरै गृहकार्य दिएर बच्चालाई व्यस्त बनाउन स्कुलसँग आग्रह गर्ने गर्दछन् ।
बिदा नै दिए पनि बिदाभर व्यस्त हुने गरी काम दिएको भए बच्चालाई व्यवस्थापन गर्न सजिलो र उनीहरूको पढाइ पनि राम्रो हुन्थ्यो भन्ने धारणा उनीहरूको देखिन्छ । यति लामो समय पढाइलेखाइबिना घरमा बसिरहँदा पढ्ने बानी नै हराउने हो कि भन्ने चिन्ताले यी अभिभावक बच्चालाई व्यस्त राख्न ट्युसन कक्षाको खोजीमा हिँडेको देखिन्छ ।
लामो बिदा भएकाले देशविदेश घुमेर रमाइलो गर्ने अभिभावकको सङ्ख्या पनि अहिले ह्वात्तै बढेको छ । यत्रो बिदामा छोराछोरीलाई घुमाउन नलगे त भएन नि, आखिर अरू बेला रमाइलो गर्न पाउने होइन भन्ने अभिभावकको मनस्थिति पनि हुने गर्छ ।
बिदा नहुँदा समस्या, हुँदा पनि समस्या, गृहकार्य थोरै हुँदा र धेरै हुँदा पनि समस्या नै देख्ने हाम्रो सामाजिक बानी हो । बरु वास्तविक कुरा के हो भने बिदा दिने र नदिने, गृहकार्य दिने र नदिने स्कुल अथवा बच्चालाई व्यवस्थापन गर्न समस्या परेका वा निष्फिक्री घुमाउन तम्सेका सबै अभिभावकले मेलापर्वको चुरो कुरो भने बिर्सेकै हुन् ।
आफ्ना बालबालिकालाई दशैँ, तिहार किन मनाउने, आफ्ना नाता सम्बन्धका मानिसहरू कोको हुन्, उनीहरूसँग कसरी व्यवहार गर्ने, आफ्नो प्राकृतिक र सामाजिक परिवेश कस्तो छ ? समाजका मानिसको दैनिकी कसरी चलेको छ र उनीहरूको परम्परागत ज्ञान र प्रविधि केकस्तो छ भन्ने कुराको जानकारी एवं अवलोकन गराउनतर्फ पनि हामी अभिभावकले उपयुक्त वातावरण बनाइदिनु पर्छ ।
सामाजिकीकरण र भाषा
बालबालिकाले घरका मान्छेभन्दा बाहेककालाई अङ्कल, अन्टी, दाइ, भाइ वा दिदी, बहिनीभन्दा अर्को नाताले बुझ्नै सक्दैनन् । शब्दको लोप र सही प्रयोगको अभावसँग संस्कृति मात्र होइन, भावनात्मक निकटता पनि हराउँदै गएको छ । आमा, हजुरआमा, साँहिला बा, फुपाजू, भिनाजु, माइजू, भतिज, भतिजी नन्द, देवर, सासू सम्धी र भान्दाइ शब्दको शाब्दिक अर्थ उनीहरूलाई थाहा नै हुँदैन । किन कि हामीले यस्ता महìवपूर्ण कुरा उनीहरूसँग फुर्सदको समयमा पनि सिकाउन आवश्यक नै मानिरहेको हुँदैनौ । यति मात्र होइन, गाईको दूध, भैँसीको दूध वा कुकुर बिरालोको दूधमा अन्तर देख्ने क्षमता हराएको छ । यसैले बालबालिकालाई सांस्कृतिक रसले समृद्ध नबनाएसम्म उनीहरूले धेरैभन्दा धेरै सूचना सङ्कलन गर्र्न सक्दैनन । जीवनमा सिक्नु पर्ने धेरै कुरा उनीहरूको शब्दकोशमा अधुरै रहन्छ ।
म को हुँ, हाम्रो रीतिस्थिति र परम्परा के हो ? मेरा नातेदार को हुन् ? उनीहरूको जीवनशैली अनि पुख्र्यौली ज्ञान, सीप र प्रविधिको जानकारी बालबालिकालाई गराउनु नितान्त आवश्यक छ र सोही कार्यका लागि सुनौलो अवसर लामो बिदा बन्न सक्दछ । यतिखेर परिवार र समाजबाट देखेर, भोगेर र अनुभव गरेर सिकेका कुरा बच्चाले दशौँ वर्ष कक्षामा मेहनत गरेर पनि सिक्न सक्दैन । सिकाइ भनेको छिटोछिटो सूचना सङ्कलन गर्नु र चाहिएको बेला दुरुस्तै प्रस्तुत गर्न सक्नु होइन, बरु आचरण वा व्यवहारमा आउने परिवर्तन, चिन्तनमा आउने परिवर्तन हो । यसैले
दशैँ, तिहारको लामो बिदालाई फलदायी बनाउन स्कुल, अभिभावकलगायत सबै सचेत व्यक्ति आजैदेखि स्वपहिचान तथा समाज बुझ्ने काममा बालबालिकालाई अभिप्रेरित गर्न लाग्नुपर्दछ । गृहकार्यको भार र स्मार्टफोनको कुलतबाट मुक्त राखी स्वतन्त्र रूपमा बालबालिकालाई उन्मुक्त हाँसो हाँस्न सिकाउनेतर्फ सोच्नै पर्छ है । (गोरखापत्रबाट साभार)