लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले झन्डै चार करोडकाे लगानीमा चर्दी खोलामा मोटरेबल पुल निर्माण गर्ने भएको छ ।
मध्यनेपाल नगरपालिका-३ र ४ को सीमा भएर बग्ने चर्दी खोलामा क्रमागत योजना बनाएर आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गर्ने तयारी भएकाे हाे । मोटरेबल पुल निर्माणका लागि केही दिनमै टेन्डर आह्वान गरिने र प्रक्रियागत रुपमा पुल निर्माण सुरु गरिने मेयर रमेशकुमार पाण्डेले बताए ।
यसअघि गण्डकी सरकारले सो चर्दीखोलामा मोटरेबल पुल निर्माण गर्ने भने पनि बजेट विनियोजन हुन नसकेपछि निर्माण कार्यले गति लिन सकेको थिएन । नगरपालिका आफैले पनि तीन वर्ष अघि उक्त खोलामा पुल निर्माण गर्ने योजना बनाएको थियो ।
तर, साविक स्थानीय नेकपा नेताले प्रदेश सरकारबाट बजेट ल्याएर पुल बनाउने अडान लिएपछि नगरपालिकाले उक्त योजना स्थगित गरेको थियो ।
गण्डकी सरकारले उक्त मोटरेबल पुलका लागि डिपिआर भने तयार गरेको थियो । डिपिआर तयार भए पनि बजेट भने विनियोजन गरेको थिएन ।
वर्षाको समयमा खोलामा बाढी आएसँगै अवरुद्ध हुने उक्त सडकमा मोटरेबल पुल निर्माण भएपश्चात सहज हुने भएको छ । चर्दी खोलामा मोटरेबल पुल निर्माण भएसँगै त्यस क्षेत्रका बासिन्दालाई कुन्छा, सुन्दरबजार हुँदै सदरमुकाम आउन सोही मार्ग भएर पोखरा दमौली जान पनि सहज हुने भएको छ ।