काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका हुन् ।
प्रस्ताव प्रस्तुत गर्दै अर्थ मन्त्री डा. महतले लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, नीजि क्षेत्रसँगको संवाद, पूँजीगत खर्च वृद्धि गर्न गरिएको पहल, वित्त नीति र मौद्रिक नीति बीचमा गरिएको तालमेलका कारण अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अगाडी बढेको बताए ।
उनले विद्युत् उत्पादन र पर्यटकको आगमन वृद्धि तथा विदेशी लगानी बढ्नुले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उल्लेख गरे ।
अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने जानकारी गराउनुभएको छ ।
अर्थमन्त्री डा.महतले सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको, हाल राजस्व सङ्कलन लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढेको र आगामी दिनमा थप बढ्ने बताए ।
उनले ‘आगामी बजेटमा उत्पादन वृद्धि, रोजगारको सिर्जना गर्ने गरी अर्थतन्त्रलाई दिशा निर्देशन गर्नु जरुरी रहेको बताए । अर्थमन्त्री डा. महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गर्दा संविधानले प्रत्याभूत गरेको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीति तथा दायित्वलाई प्रमुख मार्ग दर्शनका रुपमा लिएको बताए ।
अर्थमन्त्री डा.महतले दिगो एवं समावेशी आर्थिक वृद्धिका लागि ऊर्जा, कृषि, पर्यटन तथा सूचना प्रविधिलगायतका आर्थिक वृद्धिमा उच्च योगदान दिन सक्ने क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने गरी सरकारी स्रोतको परिचालन गरिने बताए ।
उनले देशभित्रै उत्पादन र रोजगारीका अवसर बढाउन नीजि क्षेत्रको लगानीलाई सहज वातावरण बनाउने, सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गर्नेतर्फ बजेट उन्मुख हुने बताए ।
अर्थतन्त्रका बाह्य र आन्तरिक सुचांकहरुलाई प्रभाव पर्ने वित्त र मौद्रिक नीतिलाई एकै लयका सबल र सुदृढ बनाउने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, सरकारको आम्दानी र खर्चबीच सन्तुलन कायम गरी सार्वजनिक वित्तलाई सुदृढ र दबाबमुक्त बनाउनेतर्फ बजेट उन्मुख हुने बताए ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक २०८० सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको प्रतिवेदन टेबुल भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते शुक्रवार बिहान ११ बजे बस्ने छ । पूर्णपाठ







