घोराही, १७ भदौ । सामुदायिक विद्यालयका विद्यार्थीलाई सियुजी (कलोज्ड युजर ग्रुप) पाठशाला प्रविधि मार्फत पढाइने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७ को कार्यविधि अनुसार सामुदायिक विद्यालयमा सियुजीमार्फत पढाइ हुने भएको हो ।
शिक्षक र विद्यार्थीबीच सिकाइ सम्पर्क कायम गराउने सियुजीका लागि दाङका सबै स्थानीय तहलाई बजेट निकासा गरिएको छ । कोरोना महामारीमा निजी विद्यालयमा अनलाइनमार्फत् कक्षा संचालन भइरहे पनि धेरैजसो सामुदायिक विद्यालयका विद्यार्थी इन्टरनेट मात्र होइन, फोनको पहुँचबाट पनि टाढा छन् । यही समस्यालाई मध्येनजर गरेर सरकारले यो प्रविधि अगाडि सारेको हो ।
यो कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क सिमकार्ड दिएर सियुजीमार्फत् पढाइने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मित्रप्रसाद गौतमले जनानकारी दिए । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी, कार्यरत शिक्षक र उनीहरूका परिवारका कुनै एक सदस्यले एउटा सिमकार्ड निःशुल्क पाउनेछन् ।
‘पाठशाला सियुजी सिम लिएपछि प्रत्येक कक्षाका विद्यार्थी र सम्बन्धित विषयका शिक्षकलाई एउटै ग्रुपमा जम्मा गरेर पढाउन सकिन्छ,’ उनले भने, ‘सामूहिकरूपमा सिक्न र सिकाउन सहज हुनेछ ।’
‘सियुजीमा आवद्ध सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी वा अभिभावकको मोबाइल नम्बर विवरण विद्यालयले स्थानीय तहको सिफारिस पत्रसहित दूरसंचार कार्यालयमा सम्पर्क गर्नु पर्नेछ,’ गौतमले भने ‘विद्यालयले आफनो विद्यालयको पाठशाला सियुजीमा आवद्ध हुने शिक्षक, विद्यार्थी र अभिभावकको नाम र मोबाइल नम्बरको विवरणको सफ्टकपी एक्सलमा उपलब्ध गराउनु पर्नेछ ।’







