- सुधा देव
सप्तरी । जिल्लाका दुई नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयहरूले आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा संचालन गर्ने भएका छन् ।
नगर शिक्षा समितिले गरेको निर्णयअनुसार कोभिड- १९ विरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरेर राजविराज नगरपालिकाका प्रत्येक तहमा उपल्लो कक्षा संचालन गरिने भएको हो ।
माध्यमिक तहमा कक्षा ९ देखि १२ सम्म, निम्नमाध्यमिकमा ६ देखि ८ सम्म तथा प्राथमिक तहमा ३ देखि ५ कक्षासम्म संचालन गर्ने निर्णय गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए ।
उनले भने, ‘विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर विद्यार्थी संख्याको आधारमा फरक फरक सिफ्टमा कक्षा संचालन गर्न, गराउन निर्णय गरेका हौँ ।’
त्यसैगरी कंचनरूप नगरपालिकाले समुदायिक तथा निजी विद्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी आइतबारदेखि माध्यमिक र निम्नमाध्यमिक विद्यालयका कक्षा ६ देखि १२ कक्षासम्म संचालन गर्ने भएको छ।
विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिनका लागि विद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई अनिवार्य रूपमा स्वास्थ्य सामग्री, मास्क, स्यानिटाइजर आदिको प्रयोग गरी विद्यालय खोल्ने निर्णय गरेको नगरपालिकाका प्रमुख वसन्त मिश्रले जानकारी दिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले विद्यालय संचालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियोे ।
नेपाल सरकारबाट जारी स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ र सीसीएमसीबाट स्वीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृतिअनुरूप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनसम्बन्धी कार्ययोजना तथा शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयका खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । यसअघि दुई सातादेखि सप्तरीको सुरुङ्गा नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा संचालन गरिसकेको छ।