संजीव राई
तिमी
मृत्युसँग पटक्कै
नडराएको देख्दा
आश्चर्यचकित भएको छु
के साच्चै तिमीले
मृत्युमाथी विजय प्राप्त गरेकै हौ त
कि कतै फेला पारेका छौ
समुन्द्र मंथनबाट प्राप्त भएको
अमृतको गाग्रो
या
तिम्रो नाभीमा अमृत छ
यदी होइन भने
चितामा लप्की रहेको रापले
तिमीलाई त पोलनु पर्ने हो
वियोगले भिजेका परेलीहरुसँगै
तिम्रो नयन पनि रसाउनु पर्ने हो
पुछिएको सिन्दुर
अनि टुहूराको चित्कारले
हल्लीनु पर्ने हो
तिम्रो मुटु
यदी
साधरण मनुष्यनै हौ भने
कुनै दिन यसरीनै
जलिरहेको हुनेछौ
जसरी
अहिले अरु कोही जलिरहेछ
चित्कार पनि उस्तै सुनिनेछ
जस्तो यो क्षणमा सुनिदैछ
फरक मात्र समयको छ
आज अरुनै छन् चितामा
भोली तिमी पनि हुनेछौ ..।।।।