एजेन्सी । कास्मिरका स्थानीय वासिन्दा कास्मिरी पण्डितहरुमाथिको दमनको विषयलाई लिएर बनेको फिल्म ‘द कश्मीर फाइल’ का निर्देशक विवेक अग्निहोत्रीलाई भारतीय गृह मन्त्रालयले वाई क्षेणीको सुरक्षा दिएको छ ।
उनलाई सुरक्षा चुनौती रहेको भन्दै भारतको इन्टेलिजेन्स ब्यूरोको थ्रेट पर्सेप्शन रिपोर्टका आधारमा गृह मन्त्रालयले अग्निहोत्रीलाई यो सुरक्षा दिएको हो । अब यो सुरक्षा पाएसँगै निर्देशक अग्निहोत्री भारतको जुन सुकै ठाँउमा जाँदा पनि उनीसँग केन्द्रीय सिजर्व पुलिस फोर्स (सीआरपीएफ) का सुरक्षाकर्मी सँगै रहने भारतीय संचार माध्यमले जनाएका छन् ।
के हो वाई क्षेणीको सुरक्षा ?
वाई क्षेणीको सुरक्षामा कुल ८ सुरक्षाकर्मी व्यक्तिको सुरक्षाको लागि खटिएका हुन्छन् । यसमा सुरक्षा दिइने व्यक्तिको घरमा ५ वटा हतियारधारी सुरक्षाकर्मी राखिन्छ र ३ सिफ्टमा ३ पिएसओको (पब्लिक सर्भिस अफिसर) सुरक्षा दिइन्छ ।
निर्देशक अग्निहोत्रीको फिल्ममा कश्मिरी पण्डितहरूमाथि भएको अत्याचारलाई देखाइएको छ । यस फिल्मको कथा बस्तुले फिल्म हेर्ने दर्शक निकै भाबुक पनि भएका छन् । फिल्मलाई धेरैले राम्रो भने पनि भारतीय राजनिितक दलहरुले यसलाई राजनीतिक रङ दिन खोजेका छन् । यसका बाबजुद पनि फिल्मले निकै राम्रो कमाई गरेको छ । फिल्मले ६ दिनमा झण्डै ८० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य कलाकारहरूले भने यस फिल्मको तारिफ गरेका छन् ।