काठमाडाै ८ भदाै । ‘कलामा सधैं नेपालीपन झल्केको हुनुपर्छ, चित्र कोर्ने बेला स्थानीय कलाको प्रयोग गर्न सके त्यसले देश वा राष्ट्रियताको आभास दिलाउँछ । नेपालीपन झल्केका चित्रले नेपाललाई विश्वभर परिचित गराउन सक्छ’ चार दशक चित्रकलामा बिताएका नरेशसुन्दर सैजुको अनुभव हो यो ।
कोटेश्वरस्थित उनको घरभित्र प्रवेश गर्दा आभास हुन्छ, यो वरिष्ठ चित्रकारकै घर हो । घरको तल्लो तला छाडेर माथिल्लतिर उक्लिँदै गर्दा भित्तामा ठूला तस्बिरहरु सजाइएका छन् ।
कुनै तस्बिरमा महिला खेतको कान्लामा काम गर्दै छन् त कुनैमा छाता ओढेका महिला आफ्नै यात्रामा छन् । घरको दोस्रो तलादेखि चौथौ तलासम्म यस्तै यस्तै चित्र देख्न सकिन्छ । उनका चित्र त्यतिमा मात्रै सीमित छैनन्, घरको बैठक कोठादेखि भान्सा कोठासम्म यस्तै मनमोहक चित्रले सजिएका छन् ।
घरको छतमा वाटर कलरसँगै हरियो, नीलो, रातोलगायत रंगले चित्र कोर्दै गरेका सैजु भन्छन्, ‘म अहिले प्रकृतिसम्बन्धी चित्रलाई क्यानभासमा उतार्दैछु ।’
त्यही समयमा उनको घरको छतबाट पारिपट्टि धुवाँको मुस्लो निस्किँदै गरेको दृश्य प्रष्ट देखियो । उनले त्यो मुस्लो देख्नेबित्तिकै भनिहाले, ‘मेरा लागि त त्यही उड्दै गरेको धुवाँको मुस्लो पनि पेन्टिङ बन्न सक्छ, आँखाले जे देख्यो, त्यो चित्रमा उतारिहाल्छु ।’
६२ वर्षअघि काभ्रेको पनौतीमा जन्मेका चित्रकार सैजु अहिले पनि चित्र कोर्नमै व्यस्त छन् । उनले हालसम्म नेपालीसँगै जर्मन, बेलायत, बेल्जियम, चीन र भारतका विभिन्न सहरमा आफ्ना कला प्रदर्शनी गरेका छन् ।