काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले श्रमिकको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले श्रम आयोग निर्माण, सामाजिक सुरक्षा कोष लागू गर्ने बारेमा सरकार सकारात्मक रहेको बताए । “श्रमिकको समस्या र मुद्दा समाधानका लागि पार्टी र सरकार दुवै लाग्नेछ”, कार्यवाहक सभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले भने ।
कार्यवाहक सभापति खड्काले पार्टीको नेतृत्व तहमा श्रमको प्रतिनिधित्व गराउने विषयमा पार्टी नेतृत्व सकारात्मक रहेको उल्लेख गरे । उनले श्रमिकका मुद्दालाई समाधान गर्न थुप्रै ऐन, कानुन निर्माण भए पनि कार्यान्वयनमा समस्या देखिएको बताए ।
उनले मजदुरका समस्यालाई ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनमा व्यापक छलफल गरेर निस्किएका निष्कर्ष पार्टी र सरकारलाई बुझाउन आग्रहसमेत गरे । छलफल र सहमतिको माध्यमबाट सङ्गठनलाई अगाडि बढाउन सके मात्र पार्टी बलियो हुने उनको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले मुलुकको अवस्था जटिल रहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्न पार्टी लाग्ने स्पष्ट पारे ।
कांग्रेसका नेता डा. शेखर कोइरालाले श्रम आयोग र श्रम अदालत बनाउन आफूले पहल गर्ने बताए । उनले पार्टीको केन्द्रीय तहमा ट्रेड युनियन कांग्रेसको प्रतिनिधित्व गराउने विश्वास व्यक्त गरे ।
“सरकार कता कता बरालिन थालेको छ, दण्डहिन्ता र भ्रष्टाचारका विरुद्धमा हाम्रो साथीहरू उभिनुपर्छ, सरकारमा कांग्रेस साथीको राम्रो उपस्थित छ, हाम्रा साथीहरू सजक हुनुपर्छ”, उनले भने । उनले नेपाल ट्रेड युनियन आन्दोलनलाई नयाँ धाराका साथ अगाडि बढाउन आवश्यक रहेको बताए ।
संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वयन गर्नुपर्छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वनमा लगेमात्र श्रमिकको अधिकार स्थापित हुने बताए । “श्रमिकलाई खुसी बनाउने र श्रमिकको हक, अधिकार स्थापित गर्न संविधानको बाटोअनुसार अगाडि बढ्नुपर्छ”, उनले भने ।
उनले नेपालको राजनीतिक परिवर्तनमा ट्रेड युनियन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताए । राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिको स्वार्थ हावी हुँदा देश यो अवस्थामा पुगेको उनको भनाइ थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले नेपाली कांग्रेसले ट्रेड युनियन कांग्रेससँग गरेको सम्झौता अक्षरश पालना गर्न आग्रह गरे । उनले आगामी दिनमा देशको सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको संगठन विस्तार गरिने बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले सामाजिक सुरक्षालाई सरकारले लागू गर्नुपर्ने बताए । कांग्रेसले श्रमिकको मुद्दालाई सम्बोधन गर्न नसकेको उनको भनाइ थियो । पूर्वअध्यक्ष बस्नेतले ७० प्रतिशत जनसङ्ख्याले नेपालको अनौपचारिक क्षेत्रमा काम गरेको बताउँदै उहाँले उनीहरुलाई सामाजिक सुरक्षामा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहालले श्रमिकका मुद्दाबारे महाधिवेशनमा व्यापक छलफल हुने बताए । साउन १ गतेदेखि न्यूनतम ज्याला कम्तीमा २५ हजार नपु¥याए आन्दोलनमा जाने उनले चेतावनी दिए । श्रम आयोग र सातै प्रदेशमा श्रम अदालत बनाएरु नेपाल ट्रेड युनियन कांग्रेसले जोडतोडका साथ उठाउनुपर्ने उनको भनाइ थियो ।
सोही अवसरमा नेपालको श्रम क्षेत्रमा काम गर्ने विदेशस्थित विभिन्न श्रम सङ्गठनका प्रतिनिधीहरुले नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । आजदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ६ गतेसम्म चल्नेछ ।
उक्त महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । पाँच वर्षपछि हुन लागेको सातौँ महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय महाधिवेशन प्रतिनिधी एवं पर्यवेक्षकको सहभागिता रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक एवं उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए ।