काठमाडौं । साफ च्याम्पियनसिपको १४ औँ संस्करण आजदेखि भारतको बेंग्लोरमा हुँदैछ ।
पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न पौने चार बजेपछि सुरु हुनेछ ।
कुवेत र लेबनानले पहिलो पटक आमन्त्रित टिमको रूपमा साफ खेल्न लागेका हुन् ।
साविकको उपविजेतासमेत रहेको नेपालले उद्घाटन खेलमै बलियो कुवेतको चुनौती पाएको हो ।
नेपाल र कुवेतबीच अहिलेसम्म भएका तीन खेलमा नेपाल जितविहीन छ ।
पछिल्लो पटक सन् २०२२ को जुनमा एसिया कप छनोटको तेस्रो चरणमा नेपाललाई कुवेतले ४ – १ ले पराजित गरेको थियो ।