इटहरी । बैङ्कले व्यापारीलाई हातहतियार सहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा आज इटहरी उद्योग वाणिज्य सङ्घले बजार बन्दको आह्वान गरेको छ ।
इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको ग्लोबल आईएमई बैङ्कको टोलीले हातहतियार सहितको आतङ्कित बनाएको विरोधमा उद्योग वाणिज्य सङ्घ इटहरीले बजार बन्दको आह्वान गरेको जनाएको हो ।
बैङ्कको आतङ्क बढ्दै गएको भन्दै उवासंघ इटहरीले विरोधको कार्यक्रम घोषणा गरेको छ । उवासंघका अनुसार आज सोमवार बिहान ८ बजे बजार परिक्रममा गरेर आतङ्कको विरोधमा कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
आर्थिक मन्दीले व्यापार व्यवसाय धरासायी भएको समयमा बैङ्कले अमानवीय र ज्यादतीपूर्ण व्यवहार गरेको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको भनाई छ । `धाकधम्की दिने र असभ्य व्यवहार देखाएको विरोधमा सोमबार व्यापार बन्दको घोषणा गरिएको´ उनले बताएका छन् ।
आइतबार राती आकस्मिक बैठक बसेको उवासंघ इटहरीले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्ण व्यापारी व्यवसायीलाई आह्वान गरेको छ । उनले भने, `व्यवसायीको मनोबल गिराउने काममा बैङ्क लागेको बताउँदै उनले त्यसको भर्त्सना स्वरूप व्यवसाय बन्द गरेर सहयोग गर्न आग्रह गर्दछौं ।´
आइतबार ज्वेलर्सका सरसामान जफत गर्ने प्रयास गरेको बैङ्कले लामो समयको गलफतीपछि सामान फिर्ता गरेको थियो । समयमै ऋण नतिरेको भन्दै बैकले प्रक्रिया लिलामी प्रक्रिया अगाडी बढाइसकेको छ । लिलामी प्रक्रियाकै क्रममा सामान जफत गर्न बैङ्क ज्वेलर्स पुगेको ब्यवसायी बताउँछन् ।