विराटनगर । कोसी प्रदेश सरकारको पाँचौ मुख्यमन्त्रीको रुपमा उद्धव थापा नियुक्त भएका छन् । आज (बिहीबार) थापालाई प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस कोसी प्रदेशका सभापति समेत रहेका थापा समानुपातिक सांसद हुन् ।
उनी नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् । कोसीमा कांग्रेसका २९, माओबादीका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सिटसहित ४७ सांसदको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् ।
९३ सांसद रहेको कोसी प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । जसमध्ये सभामुखलाई पनि जोडेर कांग्रेसबाट थापाले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
यसअघि नेकपा एमालेको नेतृत्वमा मुख्यमन्त्री बनेका हिक्मत कार्कीले अघिल्लो बुधबार विश्वासको मत प्राप्त नगरेपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो । कार्कीको नेतृत्वमा यसअघि माओबादी, राप्रपा र जसपाको संयुक्त सरकार बनेको थियो । उनैको नेतृत्वमा नामबिहीन बनेको प्रदेश १ को नाम कोसी राखिएपछि पहिचानवादीहरू आन्दोलित बनेका थिए ।
पहिचानको मुद्धा उठाएको नेकपा माओबादी केन्द्र र जसपाले चौतर्फी दबाबपछि सरकारबाट बाहिरिने निर्णय गरेका थिए । सोही कारण कार्कीले विश्वासको मत माग्नुपर्ने बाध्यता थियो । कार्कीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
को हुन् नवनियुक्त मुख्यमन्त्री थापा ?
थापा झापा निवासी हुन् । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नजिक रहेर पार्टीमा काम गरेका उनी २०६८ सालमा झापा कांग्रेसको सभापति बनेका थिए । त्यसबेला उनले विश्वप्रकाश शर्मालाई पराजित गर्दै जिल्ला सभापति बने । जिल्ला सभापति भएसँगै उनको राजनीतिक यात्राले थप गति लियो ।
यससँगै नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा २०७८ मंसिर २० गते थापा निर्वाचित भए । गुरुराज घिमिरेलाई २ मतअन्तरले पराजित गर्दै थापाले प्रदेशमा पार्टीको पहिलो नेतृत्व सम्हाल्ने अवसर पाएका थिए ।
उनी समानुपातिकबाट सांसद बनेपनि कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । २०७९ पुष १५ गते भएको कांग्रेस संसदीय दलको नेतामा कूल २९ सिटमध्ये थापाले १८ मत प्राप्त गरेका थिए भने केदार कार्कीले ९ मत प्राप्त गरे । यस्तै, अमृत अर्यालले भने २ मत प्राप्त गरेका थिए । कांग्रेसभित्र सिटौलासँग लामो समय नजिक रहेर हालसम्म निरन्तर काम गरिरहेका थापा मुख्यमन्त्रीमा नियुक्त भएसँगै विश्वासको मत पाउने, नपाउने भन्नेबारे चर्चा सुरु हुुन थालेको छ ।
पाउलान् विश्वासको मत ?
कोसीमा सभामुखलाई पनि जोडेर बहुमत पुर्याइएपछि थापाले विश्वासको मत पाउने सम्भावना कम छ । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । थापाले विश्वासको मत पाउनका निम्ति राप्रपाले समर्थन गर्नुपर्ने हुन्छ । तर, सरकार निर्माणकै लागि साथ नदिएको राप्रपाले विश्वासको मत दिने अवस्था पनि कम देखिन्छ ।
कोसीमा एमालेका ४०, कांग्रेसका २९, माओबादीका १३ (सभामुखसहित), राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ सिट छन् । बहुमतका लागि ४७ सिट आवश्यक पर्छ ।