काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले कांग्रेस सरकारमा भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिनसके २०८४ सालमा कुनैपनि नयाँ पार्टीहरूबाट कांग्रेस डराउनु नपर्ने बताए ।
‘अहिलेको सरकार सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा रहेको म्यासेज हामीले दिनसक्यौँ भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्लै चुनाव जितिन्छ। कसैसँग डराउनु पर्दैन। अहिले पनि हामी सरकारमा त छौँ।’ नेता पौडेलले भने, ‘हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौँ भने ८४ को चुनावमा जो जो नयाँ आएपनि हामीलाई कसैले केही गर्न सक्दैन। सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिले पनि हामीले चुनाव जित्न सक्दैनौँ।’
उनले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह गरे। पार्टी र पार्टीका नेताका बारेमा राम्रो लेख्नुपर्ने उनको भनाइ थियो ।
नेता पौडेलले चुनावका बेला प्रतिष्पर्धीले सोही पार्टीका विरुद्धमा लेखेको प्रमाण देखाएर टिकट लिएर जाने गरेके भन्दै आफ्नो प्रमाण आफैँले पेस गर्ने काम नगर्न आग्रह गरेका छन् ।